ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न

समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न

सल्यान, साउन ११।
“विचार, संगठन, श्रम, सृजना र प्रविधि : समतामूलक समृद्धि” भन्ने मूल नारासहित सञ्चालन गरिएको समाजवाद मिसनको दुई महिने शोधयात्रा अभियान अन्तर्गत अभियानकर्ता उपेन्द्रलाल कामी ले सल्यानमा अन्तरसंवाद कार्यक्रम सम्पन्न गर्नुभएको छ।

सुनचाँदी व्यवसाय संघ सल्यानका अध्यक्ष रमेश सुनार को अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजवादको ऐतिहासिक विकास, वर्तमान अभ्यास तथा भविष्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो।

विज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै अभियानकर्ता कामीले लिच्छविकालदेखि नै नेपालमा समाजवादका केही नमुना अभ्यास र सामुदायिक जीवनशैलीको विकास भएको उल्लेख गर्दै कृषि युगको प्रारम्भिक चरणमा नेपाल स्वर्णयुगको मानकका रूपमा स्थापित रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले राजनीतिक दलहरूले समाजवादलाई प्रतिवेदन र दस्तावेजमा उल्लेख गरे पनि व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको बताउँदै विचार, संगठन र सिद्धान्तको व्यवहारिक अभ्यासबिना समाजवादको आधार तयार हुन नसक्ने धारणा राख्नुभयो।

उहाँले समाजवादको आधार निर्माणका लागि सांस्कृतिक अभ्यास, सामाजिक अभ्यास, श्रम संगठन तथा प्रविधिमैत्री सोच आवश्यक रहेको उल्लेख गर्दै यी सबै पक्ष विचारद्वारा निर्देशित हुने भएकाले त्यसको व्यवहारिक अध्ययन गर्न दुई महिने शोधयात्रा सुरु गरिएको जानकारी दिनुभयो।

जन्मदिनको विशेष अवसर पारेर सुरु गरिएको उक्त अभियानले हिमाल, पहाड र तराईलाई जोड्ने उद्देश्य राखेको बताउँदै उहाँले पूर्वी रुकुमबाट यात्रा प्रारम्भ गरी खोटाङ, हिमाली जिल्ला मनाङ तथा तराईका विभिन्न जिल्लामा दुई महिनासम्म अध्ययन, अन्तरक्रिया र संवाद सञ्चालन गरिने जानकारी दिनुभयो।

उहाँका अनुसार अध्ययनबाट प्राप्त निष्कर्ष समेटिएको संक्षिप्त प्रतिवेदन असोज ३ गते संविधान दिवसको अवसरमा विभिन्न राजनीतिक दलका केन्द्रीय नेताहरूलाई बुझाइनेछ। त्यसपछि असोज ५ गते पूर्वी रुकुममा समीक्षा कार्यक्रमसहित अभियानको औपचारिक समापन गरिनेछ।

कार्यक्रममा नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज मानसिंह विक, राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेश अध्यक्ष भीम परियार, पर्यटन व्यवसायी सुकदेव विक, डम्बर तिरुवा, सुनचाँदी व्यवसाय संघका केन्द्रीय सदस्य मेघराज सुनार, व्यवसायी संघका पदाधिकारी, सिलाई व्यवसायी संघका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा सुनचाँदी व्यवसाय संघका उपाध्यक्ष विजय सुनार ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन राष्ट्रिय दलित पत्रकार संघ नेपाल सल्यानका जिल्ला अध्यक्ष नोखीराम थापा ले गर्नुभएको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता