ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट

सल्यान, साउन ५

जिल्ला प्रहरी कार्यालय सल्यान कार्यसम्पादन मूल्याङ्कनमा देशकै सर्वोत्कृष्ट बनेको छ।

विज्ञापन

नेपाल प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन, अपराध अनुसन्धान, शान्ति–सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, सुशासन, समुदाय–प्रहरी साझेदारी तथा संगठनात्मक व्यवस्थापनलगायत विभिन्न सूचकका आधारमा गरेको मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय सल्यानले उत्कृष्ट नतिजा हासिल गर्दै पहिलो स्थान प्राप्त गरेको हो।

नेपाल प्रहरी प्रधान कार्यालयद्वारा सार्वजनिक २०८३ साल असार महिनाको कार्यसम्पादन प्रगति विवरण अनुसार देशभरका ‘घ’ वर्गअन्तर्गत रहेका २५ जिल्ला प्रहरी कार्यालयमध्ये जिल्ला प्रहरी कार्यालय सल्यान प्रथम स्थानमा पर्न सफल भएको छ।

कार्यसम्पादनमा सल्यान प्रहरीले उल्लेखनीय सुधार गर्दै अघि बढेको देखिएको छ।

वैशाख महिनामा १९औँ स्थानमा रहेको कार्यालय जेठ महिनामा दोस्रो स्थानमा उक्लिएको थियो भने असार महिनामा उत्कृष्ट अंक प्राप्त गर्दै देशकै पहिलो स्थान हासिल गर्न सफल भएको हो।

अपराध नियन्त्रण, कानुनको प्रभावकारी कार्यान्वयन, नागरिकमैत्री सेवा प्रवाह, समुदायसँगको सहकार्य तथा संगठनात्मक व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएकै कारण यो सफलता हासिल भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

यस उपलब्धिले सल्यान जिल्लाको शान्ति–सुरक्षा व्यवस्था थप प्रभावकारी र विश्वासिलो बन्दै गएको सन्देश दिएको छ। साथै, नेपाल प्रहरीप्रति नागरिकको भरोसा अझ मजबुत भएको स्थानीय सरोकारवालाहरूको भनाइ छ।

यस सफलताप्रति स्थानीय नागरिक, जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था तथा सरोकारवालाहरूले जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

नेपाल प्रहरीको मूल मन्त्र “सत्य, सेवा, सुरक्षणम्” लाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकको विश्वास जित्न जिल्ला प्रहरी कार्यालय सल्यानले खेलेको भूमिकाको चौतर्फी प्रशंसा भइरहेको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता