ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
जिल्ला प्रहरी कार्यालय सल्यानले गर्याे कार्यसम्पादन प्रगति सार्वजनिक: एक महिनामा सबैभन्दा बढी  शारदामा ७ सिद्धकुमाखमा १ घटना दर्ता

जिल्ला प्रहरी कार्यालय सल्यानले गर्याे कार्यसम्पादन प्रगति सार्वजनिक: एक महिनामा सबैभन्दा बढी शारदामा ७ सिद्धकुमाखमा १ घटना दर्ता

सल्यान, साउन २

जिल्ला प्रहरी कार्यालय सल्यानले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत असार महिनाको कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ।

विज्ञापन

प्रहरीका अनुसार असार महिनाभर जिल्लाभर विभिन्न प्रकृतिका २१ वटा नयाँ मुद्दा दर्ता भएका छन् भने २८ जना अभियुक्त पक्राउ परेका छन्।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार दर्ता भएका मुद्दामध्ये ६ वटा जघन्य तथा गम्भीर अपराध, १ वटा आर्थिक अपराध, २ वटा सामाजिक अपराध१२ वटा अन्य प्रकृतिका रहेका छन्।

जघन्य अपराधतर्फ जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, सवारी ज्यान तथा हातहतियारसम्बन्धी मुद्दा दर्ता भएका छन्।

प्रहरीका अनुसार असार महिनासम्म २६ वटा फर्छ्यौट हुन बाँकी मुद्दा रहेकामा १ जघन्य, ११ गम्भीर र १४ सामान्य मुद्दा रहेका छन्। सोही अवधिमा विभिन्न मुद्दामा २८ जना पक्राउ परेका छन् भने २ जना बैंकिङ कसुरका अभियुक्त फरार रहेका छन्।

फैसला कार्यान्वयनतर्फ ११ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट ६ वर्ष १ महिना कैद तथा रु. ७ लाख ७६ हजार १०० जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

हराएका तथा फेला परेका व्यक्तिको विवरणअनुसार २ पुरुष, २ बालक र ६ बालिका गरी १० जना हराएका तथा सोही संख्याका व्यक्ति फेला पारिएको उल्लेख छ। घरेलु हिंसासम्बन्धी ३ उजुरी दर्ता भएकामा सबै मिलापत्रमार्फत टुंग्याइएको छ।

स्थानीय तहगत विश्लेषणअनुसार सबैभन्दा बढी ७ वटा घटना शारदा नगरपालिकामा दर्ता भएका छन् भने सबैभन्दा कम १ वटा घटना सिद्धकुमाख गाउँपालिकामा भएको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालयमा असार महिनासम्म १८९ वटा उजुरी प्राप्त भएकामध्ये १८७ वटा फर्छ्यौट भएका छन् भने २ वटा बाँकी रहेका छन्।

जिल्ला प्रशासन कार्यालयमार्फत कुनै उजुरी प्राप्त नभएको तथा लागुऔषध बरामद तथा पक्राउको घटना शून्य रहेको उल्लेख गरिएको छ।

असार महिनामा १ जनाले आत्महत्या गरेका छन्। तीमध्ये झुन्डिएर मृत्यु १ घटना रहेको विवरणमा उल्लेख छ।

अपराध अनुसन्धानतर्फ जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगका घटनामा अनुसन्धान गरी अभियुक्त पक्राउ गरिएको, नियमित गस्ती, सादा पोसाकमा प्रहरी परिचालन तथा अपराध न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

साथै सल्लीबजारस्थित चेकपोइन्ट र बजार क्षेत्रमा सीसीटीभी जडान गरिएको जानकारी दिइएको छ।

शान्ति सुरक्षातर्फ असार महिनाभर ४ हजार ३७८ वटा गस्ती परिचालन गरिएको थियो।

यस अवधिमा १४ हजार २७६ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

प्रहरीले असार महिनामा विभिन्न विषयमा ६८ वटा समुदाय तथा विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ती कार्यक्रममा ४ हजार ९०७ जना सहभागी भएका थिए।

आत्महत्या न्यूनीकरण, बालविवाह, लागूऔषध, साइबर अपराध, मानव बेचबिखन, घरेलु हिंसा, जातीय छुवाछूत, ट्राफिक सुरक्षा, लैङ्गिक हिंसा लगायतका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।

यस्तै, अवैध रूपमा बालुवा, ढुङ्गा तथा गिटी उत्खननमा प्रयोग भएका ६ वटा ट्र्याक्टर र १ वटा जेसीबी नियन्त्रणमा लिई सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ। हातहतियार नियन्त्रण अभियानअन्तर्गत ४ नाल भरुवा बन्दुक बरामद गरी १ जनालाई पक्राउ गरिएको विवरणमा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानले अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम राख्ने तथा समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता