ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग

सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग

असार २२ काठमाडौ  

प्रतिनिधिसभाको बैठकमा  बोल्दै  सांसद रमेशकुमार मल्लले सल्यानका दुई महिलाको दुःखद मृत्युका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन, न्याय र पीडित परिवारलाई उचित सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको छ।

विज्ञापन

काठमाडौंको तारकेश्वर नगरपालिका–५, गोलढुंगामा डेरा गरी बस्दै आएकी सल्यानको कपुरकोट गाउँपालिका–२ की १८ वर्षीया धनसरा कामी असार १९ गते आफ्नै कोठामा मृत अवस्थामा फेला परेकाे घटनाको सत्यतथ्य छानबिन गर्न र दाेसीलाइ कानुनी कारबाही गर्न माग गर्नुभएकाे छ।

घटनापछि परिवारले निष्पक्ष अनुसन्धानको माग गरे पनि जाहेरी दर्तादेखि सत्यतथ्य पत्ता लगाउने प्रक्रियामा अपेक्षित संवेदनशीलता नदेखिएको भन्दै  आज संघीय संसदमा घटना प्रति सरकार जवाफदेही हुन माग गर्नुभएको छ।

त्यसैगरी, असार २० गते सल्यानको कालिमाटी गाउँपालिका–४ की ४६ वर्षीया सीता विक धान रोपाइँपछि शारदा नदीमा नुहाउने क्रममा डुबेर निधन भएको र  दिवंगत प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको  छ।

संसदमा बोल्दै सांसद रमेशकुमार मल्लले  यी दुई घटना फरक प्रकृतिका भए पनि उत्पीडित तथा दलित समुदायका महिला र छोरीहरू बारम्बार असुरक्षा, हिंसा तथा अन्यायको सिकार भइरहनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्नुभएकाे छ।

उहाँले यस्तो अवस्था केवल कानुन कार्यान्वयनको कमजोरी मात्र नभई समाजमा विद्यमान जातीय विभेद, लैङ्गिक असमानता, गरिबी, अशिक्षा र सामाजिक बहिष्करणको परिणाम भएको बताउनुभएको छ।

साथै, उत्पीडित समुदायले राज्यबाट केवल समवेदना मात्र नभई समान व्यवहार, सुरक्षा र न्यायको अनुभूति गर्न पाउनुपर्नेमा जोड दिँदै धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी कदम चाल्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्नुभएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता