ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
दार्माका ३ टोल विकास संस्था पूर्ण सरसफाइ उन्मुख घोषणा

दार्माका ३ टोल विकास संस्था पूर्ण सरसफाइ उन्मुख घोषणा

सल्यान, असार ११

दार्मा गाउँपालिका ३ टाेल विकास संस्था भोटेगारे, पाथिहाल्ने र भुर्तिबाङ पूर्ण सरसफाइ उन्मुख घोषणा गरिएको छ।

विज्ञापन

दार्मा गाउँपालिका र सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) आयोजनाको सहजीकरण तथा भोटेगारे, पाथिहाल्ने र भुर्तिबाङ टोल विकास संस्थाको आयोजनामा भोटेगारे, पाथिहाल्ने र भुर्तिबाङ टोल विकास संस्था पूर्ण सरसफाइ उन्मुख घोषणा गरिएको हाे।


दार्मा गाउँपालिका वडा नं ५ स्थित भोटेगारे टोल विकास संस्थाका १सय २१ घरधुरी र पाथिहाल्ने टोल विकास संस्थाका १सय ५ घरधुरी तथा वडा नं. ६ अन्तर्गत भुर्तिबाङ टोल विकास संस्थाका ६४ घरधुरीले पूर्ण सरसफाइका ६ वटा सूचक र १८ वटा उपसूचक पूरा गरेपछि औपचारिक रूपमा पूर्ण सरसफाइ उन्मुख टोल विकास संस्था घोषणा गरिएका हुन।

वडा नं. ५ मा आयोजित संयुक्त कार्यक्रममा वडा सचिव केशव के.सी. तथा वडा नं. ६ मा आयोजित कार्यक्रममा वडा सचिव खिमबहादुर के.सी.ले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर के.सी. प्रमुख आतिथ्यता तथा
गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्द, फिनिस राजदूत प्रतिनिधि कामना गुरुङ, वडा नं. ५ का वडा अध्यक्ष सुदीप के.सी., वडा नं. ६ का वडा अध्यक्ष देवी खत्री, सामाजिक विकास समिति संयोजक पुष्पाञ्जली मगर, स्यानिटेसन स्पेसालिस्ट गोविन्दराज रोकाया, GEDSI स्पेसालिस्ट राजु तिर्वा, WASH सल्लाहकार अम्बादत्त अवस्थी, WASH खबरका प्रतिनिधि लगायत जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार तथा स्थानीय अगुवाहरूको
बिशेष उपस्थिति रहेकाे कार्यक्रममा स्थानीय
उल्लेख्य उपस्थिति रहेको थियाे।

दार्मा गाउँपालिकाले सरसफाइ, सामाजिक परिचालन तथा सामुदायिक विकासका क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै भोटेगारे, पाथिहाल्ने र भुर्तिबाङ टोल विकास संस्थालाई जनही रु. १० हजार नगद पुरस्कार सहित सम्मान गरेको छ।

प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष निमबहादुर के.सी.ले पूर्ण सरसफाइ उन्मुख घोषणा सफलतापूर्वक सम्पन्न गरेकोमा समुदायलाई बधाई दिँदै सरसफाइका सूचकहरूको दीर्घकालीन कार्यान्वयनमा जोड दिनुभयो।

उहाँले सरसफाइसम्बन्धी सामूहिक प्रतिबद्धता कायम राख्न आग्रह गर्दै उत्कृष्ट कार्य गर्ने टोलहरूलाई आगामी दिनमा सम्मान र विकास योजनामा प्राथमिकता दिइने बताउनुभयो।

सोही अवसरमा दार्मा गाउँपालिकास्तरीय पोषण मेला कार्यक्रम सम्पन्न भएको छ।

मेलामा स्थानीय रूपमा उत्पादन गरिएका पोषिलो खाद्य परिकारहरूको प्रदर्शनी, सांस्कृतिक झाँकी प्रदर्शन तथा राष्ट्रिय लोकदोहोरी कलाकार देवी बस्नेतद्वारा सरसफाइ र पोषणसम्बन्धी जनचेतनामूलक सांगीतिक प्रस्तुति गरिएको थियो।

पूर्ण सरसफाइ, पोषण सुधार र सामुदायिक विकासका लागि एकजुट भएर अघि बढिरहेका भोटेगारे, पाथिहाल्ने र भुर्तिबाङका स्थानीयवासीको सक्रियता अनुकरणीय रहेको सहभागीहरूले बताएका छन्।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता