ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
त्रिवेणी गाउँपालिका सल्यानकाे १९औँ गाउँसभाबाट ५९ करोड भन्दा बढीको बजेट पारित

त्रिवेणी गाउँपालिका सल्यानकाे १९औँ गाउँसभाबाट ५९ करोड भन्दा बढीको बजेट पारित

असार ८ सल्यान ।

त्रिवेणी गाउँपालिका सल्यानकाे १९औँ गाउँसभाबाट ५९ करोड भन्दा बढीको बजेट पारित गर्दै सम्पन्न भएको छ।

विज्ञापन

त्रिवेणी गाउँ पालिका सल्यानले आर्थिक वर्ष ०८३/०८४ काे लागि बार्षिक नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गर्दै १९ ओेै गाउँ सभा सम्पन्न भएको हाे।

१९ ओै गाउँसभाबाट बार्षिक निति तथा कार्यक्रम पारित गरेकाे सभाले आगामी आर्थिक वर्षका लागि कुल ५९ करोड २१ लाख ९५ हजार ६ सय ६५ रुपैयाँ बजेट विनियोजन गरेको छ।

सभाले कुल बजेट मध्ये ६० प्रतिशत चालुतर्फ र ४० प्रतिशत पुँजीगततर्फ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै विभिन्न आयोजना कार्यान्वयनका लागि १२ करोड ९८ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको छ।

सभाले वडा नं. २ को वडा कार्यालय भवन निर्माणका लागि १ करोड ७८ लाख रुपैयाँ विनियोजन गरेकाे छ।

ढुंगीबजार–पिमखोला–मखनटाकुरी हुँदै दाङ जोड्ने सडक स्तरोन्नतिका लागि १ करोड ८८ लाख रुपैयाँ

लुहाम–फलाबाङ–मखनटाकुरी हुँदै दाङ जोड्ने सडक स्तरोन्नतिका लागि १ करोड ३३ लाख रुपैयाँ

त्यस्तै लुहाम–ढोरचौर आकाशी सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ तथा फलाबाङमा गौशाला निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

कृषि तथा सिँचाइ क्षेत्रमा पाखे, दार्यारह, तल्लो डाँडा बार्ने, कुहिरे रह तथा गौरे ज्यूला सिँचाइ कुलो निर्माणका लागि ३४ लाख

स्वास्थ्य क्षेत्रतर्फ त्रिवेणी स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालको रूपमा स्तरोन्नति गर्न, आवश्यक स्वास्थ्य उपकरण, प्रयोगशाला सामग्री, बर्थिङ सेन्टर व्यवस्थापन, फार्मेसी सञ्चालन तथा MBBS डाक्टर सहित विशेषज्ञ सेवा उपलब्ध गराउन ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

शिक्षा क्षेत्रमा सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान तथा कम्प्युटर ल्याब निर्माण, प्राथमिक विद्यालयमा ल्यापटप र फोटोकपी मेसिन वितरण तथा आधारभूत विद्यालयमा इ–हाजिरी जडानका लागि ४० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

सामुदायिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको बीमा कार्यक्रम सञ्चालन गरिने भएको छ।

SEE परीक्षाको तयारीलाई प्रभावकारी बनाउन कक्षा १० मा अध्ययनरत २२४ विद्यार्थीका लागि गणित, अंग्रेजी र विज्ञान विषयमा ६ महिनासम्म अतिरिक्त कक्षा सञ्चालन गर्न ८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।

SEE मा ४ GPA प्राप्त गर्ने विद्यार्थीलाई १ लाख रुपैयाँ नगद पुरस्कार तथा A+ ल्याउने विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरिने गाउँ सभाले नीति अंगीकार गरेको छ।

गाउँपालिकाले सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षकको कार्यसम्पादनलाई शैक्षिक नतिजासँग जोड्दै “पुरस्कार र दण्ड” को नीति कार्यान्वयन गर्ने निर्णय गरेको छ।

स्थायी शिक्षकको मूल्याङ्कन नतिजामा आधारित हुने तथा अस्थायी, राहत र गाउँपालिका अनुदान शिक्षकको करार नवीकरण कार्यसम्पादन सम्झौताका सूचक पूरा गरेमा मात्र गरिने व्यवस्था गरिएको छ।

विद्यार्थीको रचनात्मक क्षमता विकासका लागि गाउँपालिका स्तरीय “सिकाइ प्रदर्शनी मेला” आयोजना गरिने भएको छ।

साथै खेलकुद विकासका लागि अध्यक्ष कप, राष्ट्रपति रनिङ शिल्ड, क्रिकेट तथा फुटबल प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम समावेश गरिएको छ।

स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न स्वास्थ्य संस्थाहरू वर्षभरि सञ्चालन गरिने तथा मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार रुपैयाँ औषधि उपचार खर्च उपलब्ध गराइने भएको छ।

“सुरक्षित आवास, गाउँपालिकाको विश्वास” नारासहित गाउँपालिकाभित्रका सम्पूर्ण घरधुरीको बीमा गरिने कार्यक्रम पनि समेटिएको छ।

विकास आयोजनामा काम गर्ने श्रमिकलाई बैंक खातामार्फत समयमै पारिश्रमिक उपलब्ध गराउने तथा श्रमिकको दुर्घटना बीमा गर्ने व्यवस्था मिलाइएको छ।

गाउँपालिकाले कार्यालय सहयोगी तथा पोषणमैत्री स्थानीय शासन कार्यक्रमका कर्मचारीको पारिश्रमिक १५ प्रतिशत वृद्धि गरी १९ हजार ५ सय ५० रुपैयाँ पुर्‍याएको छ।

बालविकास शिक्षकको पारिश्रमिक २० प्रतिशत वृद्धि गरी २० हजार ४ सय रुपैयाँ तथा विद्यालय लेखापालको पारिश्रमिक २१ हजार रुपैयाँ पुर्‍याइएको छ।

गाउँपालिका अनुदान शिक्षक तथा करार कर्मचारीको पारिश्रमिकमा १० प्रतिशत वृद्धि गरिएको छ।

गाउँ पालिका भित्रका कार्यरत कर्मचारी तथा सेवा निवृत्त शिक्षकलाई १९औँ गाउँ सभामा सम्मान गरिएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता