ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
जिल्ला प्रशासन सल्यानको वार्षिक समीक्षा सम्पन्न, ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण, सेवा साँझ ६ बजेसम्म

जिल्ला प्रशासन सल्यानको वार्षिक समीक्षा सम्पन्न, ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण, सेवा साँझ ६ बजेसम्म

असार ३२, सल्यान
जिल्ला प्रशासन कार्यालय सल्यानले आर्थिक वर्ष २०८१÷८२ को अन्तिम दिन बुधबार समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा आर्थिक वर्षभरि भएका कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा कार्यक्षमता कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो।उहाँका अनुसार, जिल्लाभरीका प्रशासनिक कार्यमा भएको प्रगतिबारे समिक्षा गरिएको हो। कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै कार्यालय सहयोगी शालिग्राम घर्तीलाई सम्मान समेत गरिएको छ।

यसै अवसरमा, कार्यालयले शारदा नगरपालिकासँग सहकार्य गरी आजदेखि ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम पनि सुरु गरेको छ। ‘‘ज्येष्ठ नागरिकहरूलाई टाढाबाट आउँदा स्वास्थ्य अवस्थाको जानकारी लिएर सुरक्षित सेवा प्रदान गर्न यो कार्यक्रम सुरु गरिएको हो,’’ प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो।

विज्ञापन

कार्यालयले दैनिक रुपमा प्रदान गरिने मुख्य सेवाहरूको विवरण सार्वजनिक गर्ने अभ्यास गरिरहेको छ। राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि ठूलो संख्यामा सेवा ग्राही आउने भएकाले विशेषतः ज्येष्ठ नागरिकको काम भोलिपल्ट पर्खन नपरोस् भनेर साँझ ६ बजेसम्म सेवा विस्तार गरिएको सुवेदीले बताउनुभयो।

त्यसैगरी, कार्यालयले हरेक मंगलबार बिहान १० बजे १० मिनेट ‘स्व–जागरण ध्यान’ गर्ने र शुक्रबार कार्यालय सुरु हुनु अघि कर्मचारीहरूले आ–आफ्नो कार्यकक्ष तथा वरपर सामूहिक सरसफाइ गर्ने अभियान सञ्चालन गरिरहेको छ।

प्रशासनको यस्ता अभ्यास जिल्लाका अन्य सरकारी कार्यालय तथा स्थानीय तहका प्रतिनिधिहरूद्वारा समेत अनुशरण गर्न थालिएको छ।

करीब एक महिना अघि सल्यान आएका प्रमुख जिल्ला अधिकारी सुवेदीको पहलमा यस्ता कार्यक्रमहरूको शुरुवात गरिएको हो

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता