शारदा नगरपालिकाकाे नितितथा कार्यक्रम सार्वजनिक: कृषि,स्वास्थ्य,शिक्षा,पर्यटन र लघुउद्यमा पहिलो प्राथमिकता
असार ४ सल्यान ।
सल्यानको शारदा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरसभाको १७औँ अधिवेशनमा नगरप्रमुख प्रकाश भण्डारीले आगामी वर्षका योजनाहरू नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक सेवा र उद्यम विकासलगायतका क्षेत्रमा विशेष ध्यान केन्द्रित गरिने बताउनुभयो ।
कृषि र पशुपालन क्षेत्रमा आत्मनिर्भरता र व्यवसायीकरणलाई प्राथमिकता दिँदै नगरपालिकाले उच्च मूल्यका बाली उत्पादन, गुणस्तरीय बीउ प्रवर्द्धन रासायनिक मलको व्यवस्थित आपूर्ति, घुम्ती माटो परीक्षण शिविर, व्यवसायिक कृषियन्त्र वितरणजस्ता कार्यक्रमहरू निरन्तरता दिने जनाएको छ ।
मौरीपालन, सुन्तला र ओखर खेती विस्तार, बाँझो जमिनको सदुपयोग र जलवायु अनुकूल तरकारी खेतीलाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ।
पशुपालनलाई व्यवसायीकरण गर्दै पशु दाना उत्पादन, कृत्रिम गर्भाधान, खोप अभियान, विशिष्ट जातका पन्छीपालन र गौशाला व्यवस्थापन जस्ता कार्यक्रमहरू अघि सारिएको छ ।
यसले पशुपालकहरूलाई आर्थिक रूपमा सशक्त बनाउने विश्वास नगरपालिकाको छ ।
नगरपालिकाले बेरोजगार युवा, महिलाहरू र पिछडिएका वर्गलाई लक्षित गर्दै सीप विकास तालिम, स्वरोजगारका लागि कच्चा पदार्थको उपलब्धता, निजी क्षेत्रसँगको सहकार्य र लघु उद्यम प्रवद्र्धनमा जोड दिएको छ । मेयर उत्कृष्ट कृषक पुरस्कार समेत आयोजना गरी उद्यमशीलता र रोजगार सिर्जनामा थप जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटन प्रवद्र्धनका लागि खैरावाङ्ग मन्दिर क्षेत्रको विकास, पार्क निर्माण, होमस्टे प्रवद्र्धन, बुद्ध पार्क संरक्षण र पर्यटन सूचना केन्द्र स्थापना जस्ता कार्यक्रमहरू ल्याइएको छ ।
स्वास्थ्य सेवा क्षेत्रमा ‘हाम्रो स्वास्थ्य, राम्रो स्वास्थ्य’ नाराका साथ सबै वडामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने, आपतकालीन सेवा सुदृढीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, पोषणयुक्त आहार वितरण, विद्यालय स्वास्थ्य कार्यक्रम र मानसिक स्वास्थ्य सेवा विस्तार गरिने उल्लेख छ ।
बालबालिकालाई पोषणयुक्त खाद्यवस्तु उपलब्ध गराउने, स्तनपान कक्ष स्थापना, किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम सञ्चालन लगायत दीर्घरोगीहरूको मासिक उपचार खर्चमा समेत ध्यान दिइने छ ।
शिक्षा क्षेत्रमा सबै बालबालिकालाई गुणस्तरीय, प्रतिस्पर्धी, प्रविधिमैत्री तथा बालमैत्री वातावरणमा पहुँच सुनिश्चित गर्दै रोजगारमुखी शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको छ । १० वर्षे शिक्षा योजना कार्यान्वयन, बालविकास कक्षाका शिक्षकलाई तालिम, उत्कृष्ट विद्यालय र शिक्षक सम्मान, सुरक्षित शैक्षिक वातावरण निर्माण, अभिभावक शिक्षा कार्यक्रम र असहाय बालबालिकालाई छात्रावासमार्फत शिक्षा उपलब्ध गराउने व्यवस्था गरिनेछ । साथै, सार्वजनिक विद्यालयका पूर्वाधार सुधार, विद्युतीय उपकरण व्यवस्थापन र शैक्षिक सूचना प्रवाहमा विशेष ध्यान दिइने नीति तथा कार्यक्रममा समावेश छ ।
खेलकुद क्षेत्रमा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन, प्रशिक्षक व्यवस्थापन र मेयर कप क्रिकेट प्रतियोगिता निरन्तरता दिने योजना प्रस्तुत गरिएको छ । खानेपानी समस्याको समाधानका लागि त्रिपक्षीय सम्झौता अनुसार ठूला योजना अघि बढाइने, निजी धारा जडान अभियान निरन्तरता दिने, स्वच्छता र फोहर व्यवस्थापनलाई व्यवस्थित र आधुनिक बनाउने कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश छन् ।
पूर्वाधार विकासमा सडक मर्मत, सडक बत्ती विस्तार, बसपार्क व्यवस्थापन, सडक गुरुयोजना अद्यावधिक तथा नमूना विद्यालय सञ्चालन प्राथमिकतामा रहेका छन् । वन, वातावरण र विपद् व्यवस्थापनका लागि जलवायु परिवर्तनसँग जुध्ने कार्यक्रम, वृक्षारोपण, फोहरमैला व्यवस्थापन सुधार र विपद् कोषमा रकम विनियोजन गर्ने योजना रहेका छन् ।
न्यायिक समितिको काममा चुस्तता र गुणस्तर ल्याउन व्यवस्थित इजलास निर्माण र न्यायिक मामिला व्यवस्थापन प्रणाली सुरु गरिनेछ ।
नगरप्रमुख भण्डारीले नगरपालिकालाई सूचना मैत्री बनाउने उद्देश्यले सूचना पाटी र डिजिटल सेवा विस्तारमा जोड दिने बताउनुभयो
शारदा नगरपालिकाले आगामी आर्थिक वर्षमा ‘शून्य बेरुजु’ नीति अपनाउँदै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने, लेखा परीक्षणलाई वस्तुनिष्ठ बनाउन र कर्मचारी तथा जनप्रतिनिधिलाई आवश्यक तालिम प्रदान गर्न प्रतिबद्धता जनाएको छ ।
#शारदा नगरपालिकाकाे नितितथा कार्यक्रम सार्वजनिक: कृषि #शिक्षा #पर्यटन र लघुउद्यमा पहिलो प्राथमिकता #स्वास्थ्यसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा