ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सल्यानमा सडक र पूर्वाधार विकासका समस्या समाधानका लागि सर्वदलीय तथा सर्वपक्षीय बैठक

सल्यानमा सडक र पूर्वाधार विकासका समस्या समाधानका लागि सर्वदलीय तथा सर्वपक्षीय बैठक

जेठ ०५ सल्यान ।

सल्यानमा सडक र पूर्वाधार विकासका समस्या समाधानका लागि सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

विज्ञापन

सोमबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकमा संघीय सांसद प्रकाश ज्वाला, जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल, स्थानीय तहका जनप्रतिनिधिहरू, सरकारी कार्यालय प्रमुखहरू, सडक डिभिजनका अधिकारी र निर्माण व्यवसायीहरूको सहभागिता रहेको थियो।

बैठकमा अलपत्र रहेका सडक निर्माण कार्य, क्रसर उद्योगको व्यवस्थापन, तथा वर्षायाममा हुन सक्ने क्षतिको जोखिम न्यूनीकरणबारे विशेष छलफल गरिएको थियो। निर्माण व्यवसायीहरूलाई तोकिएको समयसीमा भित्रै काम सक्न निर्देशन दिइएको छ।

त्यसैगरी, सडकमा छाडिएका ढुंगा, गिट्टी, बालुवाका कारण दुर्घटना हुन सक्ने भन्दै ती सामग्री तत्काल हटाउन भनिएको छ।
कपुरकोट गाउँपालिका–३ मा पर्ने राप्ती राजमार्ग खण्डमा बारम्बार पहिरो जाँदा सवारी अवरुद्ध हुने समस्या समाधानका लागि उपकरण र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

वर्षा सुरु भइसकेको अवस्थामा बागचौर सडक खण्डको निर्माण ढिलो भएकाले त्यसलाई उच्च प्राथमिकतामा राखेर छिटो काम सक्न भनिएको छ। सडक छेउमा रहेका पुराना र अस्पष्ट साइन बोर्डहरूको मर्मत र अद्यावधिक गर्न पनि निर्देशन दिइएको छ।विद्युत् प्राधिकरणलाई लाइन विस्तारका क्रममा जोखिम मूल्याङ्कन गरी सुरक्षित रूपमा पोल सार्न भनिएको छ।

बैठकमा सांसद प्रकाश ज्वालाले निर्माण ढिलाइका कारण सर्वसाधारणलाई पर्ने सास्तीप्रति चिन्ता व्यक्त गर्दै, सम्बन्धित निकाय र निर्माण व्यवसायीहरूलाई जिम्मेवार बन्न आग्रह गरे । उनले कामका लागि उपलब्ध बजेट सीमित भए पनि तोकिएको कार्य गुणस्तरीय र समयमा सक्नुपर्ने आवश्यकता औँल्याए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता