ए मेराे बाबा

ए मेराे बाबा

भाद्र ११ रुकुम पश्चिम

ए मेरो बाबा !

तपाई दिवंगत भएको

एउटा बर्साद गएकै छैन

माटोमा टेकेको

पाइलाहरूको डोब

अझै मेटिएकै छैन

यति साह्रो /यति बिघ्न

ठोक्किन थाले

अभावका आँधीहरू ।। १ ।।

ए मेरो बाबा !

तपाई दिवंगत भएको

एउटा बर्साद गएकै छैन

बोलेको मधुर आवाज

हेरेको तीखो नजर

अझै मरेकै छैन

यति बिघ्न / यति साह्रो

उर्लन थले

संकटका भेलहरू ।। २।।

ए मेरो बाबा !

तपाई दिवंगत भएको

एउटा बर्साद गएकैछैन

विभेदको कालो घनघटामा

अपमानको शूलिले घोचेर

मारिएका उनै आत्महरू

जलाइएका उनै सपनाहरू

यति बिघ्न / यति साह्रो

पर्न थाले ऐंठनहरू ।। ३ ।।

ए मेरो बाबा !

तपाई दिवंगत भएको

एउटा बर्साद गएकै छैन

उत्प्रेरित गर्ने

प्रेरणाका साँझहरू

रसवान हुन छोडे

साहस भर्ने

उत्साहका बिहानहरू

गतिवान हुन छोडे ।। ४ ।।

ए मेरो बाबा !

तपाई दिवंगत भएको

एउटा बर्साद गएकै छैन

म सम्झँदैछु यतिखेर

जीवन दुखेको बेला

प्रेरणा भर्ने साँझहरू

थकित र आलस्यमा

उत्साह भर्ने बिहानहरू

केवल अब स्मृतिमा ।। ५ ।।