वनगाड कुपिण्डे नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, रु ८० करोड ४६ लाखको बजेट पारित
असार १० सल्यान
वनगाड कुपिण्डे नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ८० करोड ४६ लाख बराबरको बजेट पारित गरेको छ।
नगरपालिकाको १९ औँ नगरसभा अधिवेशनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै नीति, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरेको हो।

नगर प्रमुख कर्णबहादुर बुढाथोकीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न नगरसभामा नगर प्रमुख बुढाथोकीले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

सभामा नगर उपप्रमुख पुरुषोत्तम आचार्यले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
पारित बजेटमध्ये चालु खर्चतर्फ रु ४४ करोड ५५ लाख अर्थात् ५५ प्रतिशत र पुँजीगत खर्चतर्फ रु ३५ करोड ९० लाख अर्थात् ४५ प्रतिशत विनियोजन गरिएको छ।

नगरसभाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ, पूर्वाधार विकास, सामाजिक सुरक्षा, सूचना प्रविधि, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सुशासनका कार्यक्रमलाई प्राथमिकता दिएको नगरपालिकाले जनाएको छ।
साथै स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजनालाई समेत विशेष महत्व दिइएको छ।

नगरसभामा संघीय सांसद, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नगरपालिकाले आगामी आर्थिक वर्षमा जनमुखी कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत नगरवासीको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ।
#वनगाड कुपिण्डे नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न #रु ८० करोड ४६ लाखको बजेट पारितसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा