भन म के बनुँ ?

भन म के बनुँ ?

रुकुमकाेट श्रावन १५

बाबाले पनि धानिरहेको

पुर्ख्यौली पेशाको पहिचान बनेको

शिल्पकारी भए बापत अपमान सहेको

फलाम चुट्ने कामी दाइको उपमा पाएको

हो, त्यही पेशालाई जोगाउन भन्दै

पढे-लेखेको बेरोजगार युवा म

स्वरोजगार बन्न यही पेशा अंगालेँ

सुन्दर सपनाका आशाहरु संगालेँ

विवसताको बन्धनमा बाँधिएको छु

भन ए, सत्ताको बागडोर सम्हाल्नेहरु !

साँच्चै हरामी बनुँ या स्वाभिमानी

बेकामी बनुँ या सच्चा कामी !

मलाई कदापि रहर थिएन

तातो फलामसंग पौंठेजोरी खेल्न

परिस्थितिले बाध्य गरायो मलाई

युवा अवस्थामै समस्या झेल्न

मलाई पढाउदा बाबालाई लागेको ऋण

तिर्न बाँकी छ अझै साहु महाजनलाई

गाउँमा मिलेको अस्थायी जागिर पनि

ठाउँमा आफ्नो मान्छे नहुँदा हातबाटै गुम्यो

बिरामी श्रीमतीलाई उपचार गर्न

गर्भभित्रको शिशुलाई उपकार गर्न

आरनमा आगोको राप सहेको छु

कोइलाको कालो धुलो खाएको छु

हत्केलामा ठेला उठेपनि

निधारमा पसिना छुटेपनि

जिम्मेवारीको भारी बोकेको युवा म

भन ए, बडा कहलाउने महासयहरु !

अभिमानी बनुँ या साँच्चिकै दामी

बेकामी बनुँ या सच्चा कामी !

रहरलाई बन्धकी राखेर

गाउँबाट शहर पसेपछि

बिश्वासलाई उधारोमा दिएर

आश्वासनक जोंजालमा फसेपछि

आस्थाको आदर्श सिद्धान्तले

ब्यवहारलाई बेपत्ता पारेपछि

बिकल्पमा रोजेको पेशा यो

उहिले भेदभाव गरेर अछुत बनाउनेहरु

अहिले पेशा खोसिदिएर अकुत कमाउछन

उहिले अपमान गरेर रमाउन नदिने

अहिले पेशा खोसेर कमाउन नदिने

अवसरका ढोकाहरु चौतर्फी बन्द गरिदिएर

बिरालो कुट्न खोज्दा बन्द कोठाभित्र

परिणाम के हुन्छ महासय आफै बुझ

मेरो सीपलाई म कहाँ प्रयोग गरुँ ?

तिम्रा बिरुद्ध उठ्ने हतियार बनाउन या

समृद्ध राष्ट्र निर्माणको मतियार बनाउन !?

त्यसैले तिमीले नै भन ए, महासय !

बेइमानी बनुँ या अग्रगामी !

बेकामी बनुँ या सच्चा काम

स्वाभिमानको सोध अध्ययन कविता लेखक उपेन्द्रलाल कामी -२०७९/०४/१५ रुकुमकोट

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता