श्रमिक महिला दिवसकै दिन दैलेखमा  श्रीमती माथी चक्कु प्रहार

श्रमिक महिला दिवसकै दिन दैलेखमा  श्रीमती माथी चक्कु प्रहार

फागुन २४ हिक्मत नेपाली दैलेख  

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक  महिला दिवसको पूर्वसन्ध्यामा दैलेखमा एक पुरुषले  श्रीमती माथी  चक्कु प्रहार गरेका छन्।

 नारायण नगरपालिका-११ की २४ वर्षीया सावित्रा शाहीमाथि उनका श्रीमान २७ वर्षीय बखतबहादुर शाहीले चक्कु प्रहार गरेका हुन्। 

चक्कु प्रहारपछि सावित्रा सख्त घाइते भएकी छन्। घरमा बारम्बार कुटपिट र दुर्व्यवहार हुन थालेपछि गत पुस २९ गतेदेखि नौमूले गाउँपालिका-८ चौराठास्थित माइतीघरमा बस्दै आएकी सावित्रालाई बखतले सोमबार साँझ माइतीघरमै पुगेर चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। 

सावित्रामाथि चक्कु प्रहार भएलगत्तै जोगाउन गएका उनका बुबा ४६ वर्षीय बमबहादुर चन्द र भाइ १४ वर्षीय सुरेश चन्दलाई पनि चक्कु प्रहार  गरी घाइते बनाएका छन।

 घाइतेको गाउँकै मेडिकलमा प्राथमिक उपचारपछि दैलेख अस्पतालमा पुर्‍याइएको छ। दिनहुँजस्तो कुटपिट गर्न थालेपछि गएको दुई महिनादेखि  माइतीघरमा बस्दै आएकोमा माइतीमै पुगेर एक्कासी चक्कु प्रहार गरी घाइते बनाएको पीडित महिलाले बताइन्। 

सावित्रा सहित उनका बुबा बमबहादुर र भाइ सुरेशको दैलेख अस्पतालमा उपचार भइरहेको डा. जगत थापाले जानकारी दिए।  पीडित पक्षले मंगलबार दिएको ‘ज्यानमार्ने उद्योग’सम्बन्धी जाहेरीका आधारमा आरोपित बखतबहादुर शाहीलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ। बखतलाई प्रहरी हिरासतमा राखिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता