सल्यानको छत्रेश्वरीमा एक दिने क्षमता विकास कार्यक्रम सम्पन्न

सल्यानको छत्रेश्वरीमा एक दिने क्षमता विकास कार्यक्रम सम्पन्न

सल्यान, २१ असार 

अपाङ्गता भएका व्यक्ति, महिला, दलित, लोपोन्मुख तथा जनजातिहरूका लागि एक दिने क्षमता विकास कार्यक्रम सल्यानको भोटेचौरमा सम्पन्न भएको छ ।

विज्ञापन

सामाजिक विकास कार्यालय सल्यानको आयोजनामा शुक्रवार अपाङ्गता भएका व्यक्ति, महिला, दलित, लोपोन्मुख तथा जनजातिहरूको हक अधिकार, सेवा सुविधा, अवधारणा तथा कानुनी प्रावधान लगायतका विषयमा जानकार बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्ध कुमारी खत्रीले शुभकामना मन्तव्य राख्दै गाउँपालिका भित्र लक्षित समुदायका लागी आर्थिक, सामाजिक तथा विकासात्मक कार्यक्रम सञ्चालन सँगै सामाजिक न्याय र समानता कायम गर्नका लागी विभिन्न क्रियाकलापहरू सञ्चालन भइरहेको बताए ।

मानव अधिकारकर्मी रामचन्द्र रेग्मी र कल्याणकारी अपाङ्ग सेवा सङ्घ सल्यानका अध्यक्ष कृष्ण बुढाले अपाङ्गताको विषय, जातीय विभेद तथा छुवाछुत सम्बन्धी अवधारणा र कानुनी प्रावधान, लैङ्गिकताको विषयमा अभिमुखीकरण गरेका थिए ।

कार्यक्रममा जिल्ला सेवा केन्द्रबाट सेवा लिँदा अपनाउनुपर्ने प्रक्रिया, समाजसेवी र बाल कल्याण अधिकारीको भूमिका लगायतका विषयमा समेत छलफल गरिएको सामाजिक विकास कार्यालयका प्रतीक्षा तक्मेलले जानकारी दिइन् ।

सामाजिक विकास कार्यालय सल्यानका दिलीप ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नं ७ का वडाध्यक्ष टेक बहादुर विष्ट, विभिन्न शाखाका प्रमुख प्रतिनिधिहरू, पत्रकार र लक्षित वर्गका स्थानीयहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाका महिला बालबालिका शाखा प्रमुख शारदा वलीले स्वागत मन्तव्य राखेकी थिइन् ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता