अखिल(क्रान्तिकारी) सिद्धार्थ क्याम्पसद्वारा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा पुर्व इकाई अध्यक्ष सम्मान

अखिल(क्रान्तिकारी) सिद्धार्थ क्याम्पसद्वारा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा पुर्व इकाई अध्यक्ष सम्मान

बुटवल – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल इकाई समितिले नव आगन्तुक विद्यार्थी स्वागत तथा पुर्व इकाई अध्यक्ष सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच क्याम्पसमा अध्ययनरत स्नातक तह प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत ,संगठनका सोही क्याम्पसका पुर्व इकाई अध्यक्षहरुलाई सम्मान संगै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश अध्यक्ष घनश्याम खरेलले संगठनले विद्यार्थीहरुका हकहितका लागि निरन्तर काम गर्दै आइरहेको बताए । उनले विद्यार्थीको चौतर्फी विकास र शैक्षिक क्षेत्रको विविध पक्षमा वकालत गर्ने संगठन अखिल (क्रान्तिकारी ) भएको भन्दै आगामी स्ववियू निवार्चनमा बहुमतले जिताउनका लागि आजै बाट संगठनका नियमीत बैंठक, भेला , अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) रुपन्देही क्षेत्र नम्बर २ का सचिब विष्णु ढकालले मुलुकमा भएका विभिन्न आन्दोलनमा अखिल (क्रान्तिकारी) ले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिन जरुरी रहेको बताए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी )मा आबद्ध रहि रुपन्देहिमा क्रियाशिल केन्द्र ,प्रदेश,जिल्ला तथा विभिन्न क्याम्पसका नेताहरुको उपस्थिती रहेको थियो भने सिद्धार्थ गौतम बुद्ध क्याम्पसका स्नातक प्रथम वर्षमा अध्ययनरत ३ सय विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रम इकाई अध्यक्ष हिमाल खनालको अध्यक्षता, जीवन शर्माको स्वागत, तथा केशव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो भने विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती समेत देखाएका थिए ।