टिकटक र फेसबुकमा व्यस्त अभिभावक – कार्टुन ,पब्जीको लतमा बालबलिका

टिकटक र फेसबुकमा व्यस्त अभिभावक – कार्टुन ,पब्जीको लतमा बालबलिका

हैन, यो कार्टुनमा के राखेको हुन्छ हँ ? आँखा समेत झिम्क्याउँदैनन् त ! बुटवल देविनगर बस्ने ७ वर्षीया बालिका सृष्टि केसीकी आमा झर्किँदै थिइन् । उनी बच्चाले एकनास कार्टुन हेरिरहेकाले टिभीमा कुनै कार्यक्रम हेर्न नपाउँदा चिन्तित थिइन् ।

भर्खरै तीन पूरा भएर चार वर्षमा टेक्दै छन्, सैनामैना ४ मुर्गियाका अरुण ढकाल । तर उनी कार्टुनको दुनियाँमा रमाउन थालेको एक वर्ष भइसक्यो । अहिले उनी कार्टुन नहेरी खाना खानै मान्दैनन् ।

विज्ञापन

सालझण्डी घर भएकी सात वर्षीया विनिता परियारको पनि हालत उस्तै छ । छोरी जति खेरै मोबाइलमा झुण्डिन थालेपछि विनिताकी आमा बिन्दुमा चिन्ता थपिएको छ । उनी भन्छिन ‘सुरुसुरुमा त छोरी मोबाइल पाएपछि झगडा नगर्ने, एक ठाउँमा बसेर मोबाइल चलाइरहने भएर छाड्यौ । केही समय त साथीहरुलाई हाम्री छोरी तिमीहरुको सन्तान भन्दा ज्ञानी भनेर फूर्ती पनि लगायौं तर अहिले तनाव भइरहेको छ ।’

विन्दु मात्रै होइन, उनकी साथी संगिता राना पनि छोराका कारण चिन्तामा छिन । सुरुमा छोराले मोबाइलको स्क्रिन छुँदा पनि छोयो–छोयो भनेर खुसी भइयो, अहिले छोरोले स्क्रिन छोला कि भनेर डराउनु परेको छ ।

बुटवलकी शान्ता पौडेल पनि हिजोआज छोराछोरीका कारणले निकै चिन्तामा छिन् ।उनि भन्छिन ‘म एकल महिला हुं । दिनभरि काम गर्नु पर्छ ।त्यसैले बिहान बेलुका घरको काम सक्याउनु पर्ने भएकाले छोराछोरीलाई मोवाईल फोन दिएर भुलाउने गरे तर अहिले उनिहरुलाई वानी परेछ ,स्कुल बाट आएर खाजा खाएर नसक्दै मोवाईल हेर्ने गर्छन् ,यदि मोवाईल नदिने हो भने होर्मवक गर्न त परको कुरा हो खाजा खाना पनि मान्दैनन् ।अगाडि मोवाईल वा ल्यापटव अनिवार्य हुनुपर्ने बाध्यता छ । अब यो मोवाइल फोनका लतबाट कसरी छुटाउने होला ।’

शान्ता जस्तै चिन्तामा छिन् बुटवल तामनगरकी अपेक्षा आचार्य । कोरोनाको समयमा उनिहरुका सबै परिवार घर भित्र सिमित भए । परिवारका सबै सदस्यहरु कामकाजी भएकाले बच्चालाई खासै समय दिन नसकेकाले बन्दाबन्दिको समयमा बच्चालाई समय दिए । बच्चाको चाहाना अनुशार मोवाईल,ल्यापटव र टिभीमा गेम खेल्न, कार्टुन हेर्न र टिकटक बनाउन दिए ।उनि भन्छिन स्कुलले अनलाईन कक्षा सञ्चालन गरे संगै चौबिसै घण्टा बच्चाहरु मोवाइल । ल्यावटवमा व्यस्त भए । विस्तारै उनिहरुमा लत बसेछ, अहिले त मोबाइल नचलाओ भन्दा पनि उल्टै सरले यस्तो हेर, उस्तो हेर भन्नुभाछ भन्छन् । केही भन्नै सकिदैन ।’

सैनामैनाका संगम क्षेत्रीले आफना युवा अबस्थाका छोराछोरी जतिबेलामा पनि मोवाईलमा व्यस्त देख्दा चिन्तामा परेका छन् । उनि भन्छन् ‘कोरोनाको बेला शुरु शुरुमा त अनलाईन कक्षा होला भनेर केहि बोलिएन, तर अहिले कलेज पछिको फुर्सदको समय पनि घरको कोठा भित्र मोवाईलमा व्यस्त हुन्छन्, के रहेछ भनेर ढोकाबाट चियाउदा त छोरो पव्जी गेममा व्यस्त ,छारी टिकटकमा । पढ्ने कमाउने उमेरका छोराछोरी यो वा त्यो वाहानामा मोवाईलमा व्यस्त भएको देख्दा आफनै संस्कार र रेखदेखमा कमि भएको बताउछन् । ’

भैरहवाका सन्तोष थापाले बालबालिका मोवाईलमा व्यस्त हुनुमा स्वयम अभिभावकको कमजोरी ठान्छन् । उनले भने ‘सुरुमा छोराले मोबाइल चलाउँदा वैज्ञानिक बन्न लागेको जसरी हामी नै हौसला दिन्छौं, पछि उसैले हामीलाई पनि मोबाइल चलाउन सिकाउने हुन्छ । त्यो समयमा हामी छोराछोरीले के–के न जाने जसरी गर्वले छात्ती चौडा बनाउँछौं, त्यसैको फाइदा उनीहरु उठाउँछन् ।’

त्यसो त गेमको त कुरै छोडौं, मोबाइल मात्रै चलाउनु पनि एक प्रसारको नशा हो । यो नशा बालबालिकामा मात्रै होइन, अभिभावकमा समेत बसिसकेको छ । बच्चाले मोबाइल चलाउनुमा अभिभावककै बढी हात हुन्छ । आफू पनि मोबाइलमा व्यस्त हुने अनि बालबालिकालाई पनि मोबाइल खेल्न दिने अभिभावकको संख्या बढिरहेको छ ।अभिभावकसँगै विस्तारै विस्तारै मोबाइल खेलाउने बालबालिकामा लत बस्न थाल्छ ।बिहान बेलुका घरमा बच्चालाई अभिभाबकले समय नदिने ,फुसर्दको समयमा मोवाईलमा व्यस्त हुने कारणले पनि बच्चाहरुले त्यसैको सिको गरिरहेका छन् ।

सहजताका लागि मोवाइल

पछिल्लो समय प्राय इन्टरनेट नभएको घर छैन् ।शहर देखि गाउ सम्म नेटको सुबिधा छ ।त्यसै पनि अचेलका वुवा आमाले घरमा साना देखि ठुला छोराछोरीका लागि छुट्टै मोवाईल ,ल्यावटप,आईप्याड जस्ता सामाग्रिहरु किनेर राखेकै हुन्छन् । आफलाई मोवाईल चलाईन झन्झट नहोस भनि विकल्प पहिल्यै खोजिसकेका हुन्छन् । आफुलाई सहज बातावरण बनाउदा बनाउदै कतिबेला छोराछोरी लतमा फसेका हुन्छन थाहै पाउदैनन् ।अनि, पछि पछुताउनु वाहेक केहि रहन्न । सहजाताका लागि मोवाईल तथा विभिन्न सुचना प्रविधि भएता पनि यसको सहि प्रयोग नहुंदा कुलत तथा लागुऔषधमा फसे भन्दा बढि लत बस्ने गरेको अभिभावकहरुले गुनासो गर्छन् ।

यस्ता गेम र मोबाइलको लतले मस्तिष्कमा कस्तो असर पार्ला त ?

गेमको त कुरै छोडौं, मोबाइल मात्रै चलाउनु पनि एक प्रसारको नशा हो । यो नशा बालबालिकामा मात्रै होइन, अभिभावकमा समेत बसिसकेको मानसिक रोग विशेषज्ञ डा. बिक्रम काफले’ बताउछन् ।हामी अभिभावक आफैं पनि बिना काम मोबाइल हेरिरहने, अझै मोबाइल घरमै छाडेर गए पनि बारम्बार खल्ती छामिरहने, भाइब्रेसनको फिल गरिरहने जस्ता हर्कत गरिरहन्छौं ।
उनले भन्छन् ‘ जसरी नशालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ, मोबाइल चलाउँदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्छ ।सुरुमा मोबाइल चलाउँदा मस्तिष्कले केमिकल रिलिज गर्छ र त्यसले उनीहरुलाई खुसी बनाउने खालको हर्मोन बनाइदिन्छ । जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउँदा बालबालिका खुसी हुन्छन् लगातार चलाएपछि ब्रेन सुस्त हुँदै जान्छ ।’
लगातार मोबाइल हेरिरहदा आँखाको मसल थाक्ने, आँसु आउने, राम्रोसँग हेर्न नसक्ने, चिलाउने जस्ता समस्या हुन जान्छ । लामो समयसम्म मोबाइल हेरिरहँदा मोबाइलबाट निस्कने रेडिसनले आँखालाई अन्धो समेत बनाउन सक्छ । एकै ठाँउमा बसेर मोबाइल हेरेर खाना खाँदा मोटोपनको सिकार हुने, समयमा खाना नखाइदिने हुँदा बालबालिका शारीरिक रुपमा दुब्लो हुने सम्भावना पनि बढ्नसक्ने बताउँछन्।
धेरै मोबाइल हेर्ने बानी भएका बालबालिकामा डिप्रेसनसम्म हुनसक्ने सम्भावना हुने उनको दावी छ । अलि ठूला बालबालिकाको हकमा कुरा गर्ने हो भने मोबाइलले गर्दा एक्लै बस्ने, आफ्नो परिवारको सदस्यसँग कुरा नगर्ने जस्ता समस्या देखिन सक्छ ।

कसरी छुटाउने यो लत?

यदि बालबालिकामा मोबाइल चलाउने लत बसेको छ भने एकै पटक छुटाउने कोसिस नगरी विस्तारै छुटाउनुपर्ने मानसिक रोग विशेषज्ञ डा. बिक्रम काफलेको भनाइ छ ।लत छुटाउँदा बालबालिकालाई मोबाइल खोसेर राखिदिने हैन, उनीहरुसँग समय बिताउने, उसका साथीहरुसँग समय बिताउन दिने, नयाँ नयाँ र आकर्षक किताबहरु किनेर ल्याइदिने जस्ता कामहरु गर्न उनको सुझाव छ ।
बालबालिकाको अगाडि फोन आएको बेला बोल्न बाहेक मोबाइल प्रयोग नगर्ने ,खाना खाँदा वा बच्चालाई खुवाउँदा मोबाइल प्रयोग नगर्ने अथवा भिडियो देखाएर खाना खुवाउने बानी एकै पटकमा बन्द गर्न गाह्रो हुन्छ , विस्तारै कम गर्दै जाने तथा बालबालिकाले स्क्रिनमा हेर्ने कार्यक्रम वा खेलबारे जान्ने र निरीक्षण गर्ने । गलत गतिविधि देखाउने वा हिंसात्मक गतिविधि प्रोत्साहन गर्ने जस्ता कार्यक्रमले बाल मनोविज्ञानमा असर गर्छ यसलाई बन्द गर्ने ।छुट्टीको दिन घरमै बसी मोबाइल टिभी हेर्नुभन्दा बाहिर घुम्न लाने र अरु मानिस, जनावर, चराचुरुंगीसँग एक्सपोजर हुनु राम्रो हो ।
बालबालिकालाई भौतिक प्रकृतिमा रमाउन, खेल्न मौका दिने ,बालबालिकालाई खेलकुद, संगीत र कला सिक्न प्रोत्साहन दिने जसमा स्क्रिन समावेश नहुन् ।बालबालिका स्कुलबाट आएपछि कुराकानी गरेर केही समय बिताउने । अभिभावकहरु आफ्ना बालबालिकाको अवस्था कस्तो भन्ने बुझ्न विद्यालय जाने चलन निकै कम छ । आफ्ना बच्चालाई ध्यान दिन समय समयमा उनीहरुको विद्यालय गइरहनु पर्छ । विद्यालयले पनि मोबाइल प्रयोग गर्दा बालबालिकामा पार्ने नकारात्मक असरको बारेमा जानकारी गराउन विशेष कक्षाहरु राख्नुपर्ने र स्वयम अभिभावकले पनि मोवाईल चलाउने तिर भन्दा अन्य रचनात्मक कार्यमा ध्यान दिन जरुरी रहेको बताउछन् ।