रामनगर सहकारी संस्थाको २८ औं वार्षिक साधारण सभा सम्पन्न

२०७९ मङ्सिर २४

विज्ञापन

अनिता चौधरी

रामनगर सहकारी संस्था लिमिटेड सैनामैनाको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्षतामा भएको साधारणसभाको सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले उद्घाटन गर्नुभएको थियोे ।

सो अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले बैंक र वित्तीय संस्थाहरुमध्ये सहकारीको आफ्नै संचालन विधि र नीति रहेको बताउनुभयो । सहकारीले आर्थिक र सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । प्रमुख शर्माले सहकारीहरु अब उत्पादन केन्द्रित बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले बचत तथा ऋणको कारोवारमा मात्र केन्द्रित नभई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

सैनामैनाकै जेष्ठ सहकारी रामनगर सहकारीले आलु, धान, गहुँ, तरकारी, घाँस लगायत विउविजन उत्पादन गरि उत्पादनशिल क्षेत्रमा लगानी गरि आर्थिक समृद्धि तर्फु उन्मुख हुँदै नमुना सहकारीको रुपमा चिनाउनु पर्नेमा सुझाव दिनुभयो ।
मेयर शर्माले भन्नुभयो, उत्पादन मुलक क्षेत्रमा नगरपालिकाले अनुदान दिदै आएको छ, सहकारी र कृषिमा सैनामैनाका दुग्ध सहकारीलाई कृषकले दिने एक १ लिटर दुधमा १ रुपैयाँ उपलब्ध गराउने निति ल्याएको छ । कृषिलाई प्रभावकारी बनाउन बाख्रा पालन, भैँसी पालन, माछा पालनमा अनुदान उपलब्ध गराउदै कृषि औजार अनुदानमा ५० प्रतिशत बढाएर ७५ प्रतिशत दिने गरि निति बनाएको उल्लेख गर्नुभयो ।

सैनामैना वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले सरकारको तीन खम्बे अर्थनीति अनुसार सहकारीलाई एउटा बलियो खम्बाको रुपमा स्थापित हुन सुझाव दिनुभयो । सहकारीले आर्थिक र सामाजिकिकरण गरि महिलाको जीवनस्तर सुधार्न ठूलो योगदान गरेको बताउनुभयो ।

साधारण सभामा संस्थाका सल्लाहकार रामेश्वर शर्मा, सैनामैना सहकारी विभागका प्रमुख रामकुमार भट्टराई, जिल्ला सहकारी संघका लेखा संयोजक जगन्नाथ गौतम, गोदावरी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मी आचार्य पौडेल लगायतले बोल्दै शेयर सदस्यहरुको हितमा अग्रसर रहेर आयआर्जनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।

साधारण सभामा वार्षिक प्रतिवदेन प्रस्तुत गर्दै अध्यक्ष प्रेम बहादुर खड्काले सहकारी र आर्थिक अनुशासनलाई कायम गरिएको बताउनुभयो । उहाँले सहकारीमा राम्रो प्रतिफल प्राप्त भएको बताउनुभयो ।

कार्यक्रममा ८७ वर्ष पूरा गरेका जेष्ठ शेयर सदस्य रामप्रसाद अधिकारी, कक्षा १२ मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण सहकारी शेयर सदस्य भेषराज वाग्लेकी छोरी प्रतिष्ठा वाग्लेलाई नगद, दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
शनिबार सहकारीकाे प्राङ्गणमा भएको सभाले कोषाध्यक्ष विष्णुप्रसाद पाण्डेकाे कोषाध्यक्षकाे प्रतिवेदन तथा लेखा संयाेजक कमलराज बेल्बासेको लेखा परीक्षणको प्रतिवेदन सर्वसम्मतिले पास गरेको हो । २०३३ सालमा स्थापना गरिएको सहकारीमा हाल ६ सय ८२ शेयर सदस्यहरु छन् ।
संस्थाका उपाध्यक्ष पार्वती अधिकारी धिमालको स्वागत तथा सचिव शिवलाल भुसालको सञ्चालनमा कार्यक्रममा सम्पन्न भएको थियोे ।

संस्थाले शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी, सामाजिक सुरक्षा कोष, सहकारी शिक्षा तथा तालिम, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दै आएको छ ।