नेपाल दलित महिला उत्थान संघ (एड्वान) को अध्यक्षमा विन्दु परियार थापा चयन

नेपाल दलित महिला उत्थान संघ (एड्वान) को अध्यक्षमा विन्दु परियार थापा चयन

२२ भदौ

चितवन -नेपाल दलित महिला उत्थान संघ (एड्वान) को अध्यक्षमा विन्दु परियार थापा चयन हुनुभएको छ । हिजो मंगलवार सम्पन्न (एड्वान) २३ औँ वार्षिक साधारण सभा तथा अधिवेशनले उपाध्यक्षमा तिर्थ विक, महासचिवमा पम्फा थापा परियार, सचिवमा पम्फा नेपाली र कोषाध्यक्षमा सपना सुनारलाई सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी सदस्यमा राममाया विक र सपना परियारलाई चयन गरिएको छ । सोही अवसरमा संघीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति निरादेवी जैरुले दलित समुदायसँग सम्वन्धीत ऐन÷कानून कार्यान्वयनमा जोड दिनुभएको थियो ।

सामाजिक अभियान्ता डा. विष्णुमाया परियारले दलित समुदायलाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा बलियो बनाउन सिमान्तकृत समुदायबीच एकताको आवश्यकता औँल्याउनु भएको थियो ।

वि.सं.२०५५ मा स्थापना भएको उक्त संस्थाले विपन्न समुदायका महिलालाई उद्यमशील बनाउनुका साथै अर्घाखाँची, गोरखा, चितवन, बागलुङ र तनहुँलगायत जिल्लामा आर्थिक अवस्था कमजोर भएका हजारभन्दा बढी विपन्न समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

संस्था स्थापना भएदेखि नै महिलालाई कसरी आत्मनिर्भर बनाउन र विपन्न समुदायका विद्यार्थीलाई कसरी विद्यालयको पहुँचसम्म पुर्याउन सकिन्छ भन्ने उद्देश्यका साथ काम गर्दै आएको छ ।