स्मार्ट सिटीका लागि बुटवलमा सडक बनाइँदै

स्मार्ट सिटीका लागि बुटवलमा सडक बनाइँदै

७ माघ २०७८

बुटवल — स्मार्ट सिटीको योजना बनाएको बुटवल उपमहानगरपालिकाले सडक सञ्जाल विस्तार र स्तरोन्नतिलाई तीव्रता दिएको छ । सहरी विकास योजना अनुसार उपमहानगरले मातहतका चक्रपथ, आन्तरिक र बाइपासका सडक विस्तार थालेको हो ।

विज्ञापन

शुक्रबार प्रमुख बाइपास सडक देवी पथ र रंशाला मार्ग विस्तारको शिलान्यास भएको छ । १० करोड लगानीमा यी दुई सडकको प्रमुख शिवराज सुवेदीले शिलान्यास गरे ।

यी सडकमा नाली, फुटपाथ, हरियाली क्षेत्र सडक बन्ने बताइएको छ । बाइपास सडकलाई चक्रपथ, पर्यटन सर्किट, तिलोत्तमा चक्रपथ, सैनामैना चक्रपथ, भैरहवा–लुम्बिनी सडक र विमानस्थलमा जोडिने ठूला मार्गमा जोडिने छन् ।

आन्तरिक सडक अन्तर्गत बेलबास–बुद्धनगर, मिलनचौक–चौपारी र शान्ति पथलाई स्तरोन्नति र विस्तार गर्ने कामसमेत सुरु भएको छ । संघीय सरकार, मातहतका निकाय, प्रदेश सरकार र मातहतका कार्यालयले बुटवलको सडक सञ्जाल विस्तार र स्तरोन्नतिमा सहकार्य गरेका छन् ।

उपमहानगरका प्रमुख सुवेदीले बुटवललाई स्मार्ट सिटी बनाउने योजना अनुसार सडक निर्माण, विस्तार र स्तरोन्नतिलाई प्राथमिकता दिएको बताए । बुटवलको मुख्य भाग राजमार्गको चौराहा–गोलपार्क खण्डको काम पनि ठेकेदारले ढिलो गरी अहिले अगाडि बढाएको छ । यस्तै बेलबास–बेथरी सडकको बाँकी खण्ड, बेलबास–नुवाकोट खण्डका अधुरा कामसमेत हाल अगाडि बढेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।