सवारी दुर्घटनामा परि माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज बन्जाडेको निधन

सवारी दुर्घटनामा परि माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज बन्जाडेको निधन

८ मंसिर २०७८

अम्बिका परियार

विज्ञापन

बुटवल( नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दाङको भालुवाङबाट बुटवल फर्कँदै गर्दा गएराति साँढे ९ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको ना७ख ९०६नम्बरको बसले बन्जाडे सवार लु२६प५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई घाइते बनाएको थियो।

दाङमा घाइते अपाङ्गको बैठकमा सहभागी भएर फर्कँदै गर्दा बुटवल जीतगढीमा दुर्घटना भएको थियो। घाइते भएपछि बुटवलस्थित लुम्बिनी सिटीमा उपचारका क्रममा बुधबार बिहान ५ बजे उनको मृत्यु भएको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए।

माओवादीको सशस्त्र द्वन्द्वदेखि नै भूमिगत राजनीतिमा होमिएका बन्जाडे सहिद स्मृति प्रतिष्ठान बुटवलका अध्यक्ष तथा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हुन् भने अखिल क्रान्तिकारीका पुर्व महासचिब समेत हुन । ५५ वर्षीय बन्जाडेको निधनमा पार्टीले शोक सभा गरेर अन्त्येष्टि गर्ने संयोजक जिसीले बताए। अर्घाखाँची धारापानीमा जन्मिएका बन्जाडे हाल बुटवल जीतगढीमा बस्दै आएका छन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।