लुम्बिनी प्रदेश बजेटको आकार उही तर योजना तथा कार्यक्रम परिमार्जन

लुम्बिनी प्रदेश बजेटको आकार उही तर योजना तथा कार्यक्रम परिमार्जन

२१ असोज २०७८

बुटवल – लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रूपैयाँको बजेट प्रस्तुत गरेको छ । यसअघि एमाले नेतृत्वमा बनेको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ सरकारले आर्थिक विधेयक पेस गरेको हो ।

विज्ञापन

बुधबार आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत परिमार्जित बजेट ल्याएका हुन् । तर उक्त बजेटको आकार भने अघिल्लो सरकारले ल्याएकै बजेटको आकार बराबर छ । अर्थात्, अध्यादेशमार्फत अघिल्लो सरकारले ल्याएको बजेटको आकारलाई गठबन्धन सरकारले फेरबदल नगरीकन आर्थिक विधेयक ल्याएको हो । यद्यपि बजेटका योजना तथा कार्यक्रम भने केही हेरफेर गरिएको छ ।

कूल बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख छुट्याइएको छ । त्यसबाहेक ४ अर्ब ८४ करोड २३ लाख रूपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।

अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता

नयाँ सरकारले ल्याएको बजेटमा अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रम पनि ल्याइएको छ । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज भएको छ । उक्त कार्यक्रमलाई ‘मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम’ का रूपमा कार्यान्वयन गरिने मन्त्री खड्काले बताए ।

यस्तै यसअघि सरकारले प्रदेशको गौरव कार्यक्रमभित्र राखेको लुम्बिनी प्रादेशिक अस्पतालमा मुटुरोग सेवालाई प्रभावकारी गराउन क्याथल्याब निर्माण गर्ने कार्यक्रमलाई यो सरकारले पनि निरन्तरता दिएको छ । अस्पतालमा क्याथल्याब निर्माण गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले ‘समृद्ध प्रदेश आत्मनिर्भर प्रदेश’ भन्ने नाराका साथ केही नयाँ कार्यक्रम पनि ल्याएको छ । बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धन, कोरोना नियन्त्रण र राहतका केही नयाँ कार्यक्रम समावेश गरिएको छ ।

बजेटमा १८ वर्षमुनिका बालबालिकालाई दृष्टिगत गरी कोभिड खोप लगाउन संघीय सरकारसँग समन्वय गर्ने व्यवस्था बजेटमा छ । विकट क्षेत्रमा घरदैलोमा डाक्टर कार्यक्रम सञ्चालन गर्ने, मिर्गौला प्रत्यारोपण, मुटुको भल्ब फेर्ने, क्यान्सर रोग उपचारका लागि अतिरिक्त २ लाखसम्म प्रदेश सरकारले दिने व्यवस्था बजेटमा गरिएको छ ।

प्राविधिक तथा व्यावसायिक विषयमा प्रशिक्षण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न प्युठान जिल्लामा लुम्बिनी सीप विकास प्रतिष्ठानको स्थापना र सञ्चालन गर्ने, पत्रकारहरूको समग्र सुरक्षालाई मध्यनजर गर्दै पत्रकार दुर्घटना बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउने, पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न समावेशी पत्रकारिता विकास कार्यक्रमलाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको छ ।

भैरहवा–बुटवल, कोहलपुर–नेपालगंज, लमही–भालुवाङ्ग तथा घोराही–तुलसीपुर खण्डमा विद्युतीय बस सञ्चालन गरिने कार्यक्रमलाई पनि बजेटमा समेटिएको छ ।