भुमिगत जीवन देखि अन्तराष्ट्रिय महिला अवार्ड सम्म

भुमिगत जीवन देखि अन्तराष्ट्रिय महिला अवार्ड सम्म

१९ असोज २०७८

अम्बिका परियार

पाल्पा – वुमन वर्ल्ड समिट फाउन्डेसन (डब्लूडब्लूएसएफ) जेनेभा, स्वीट्जरल्यान्डले ले २०२१ का लागि विश्वका ग्रामिण क्षेत्रमा काम गर्ने साहसी र अग्रणी सिर्जनशील महिलाहरूको सूची सार्वजनिक गरेको छ ।जसमा नेपालको तिनाउ गाउँपालिका–३, झुम्सा दोभानकी दिलकुमारी रोका मगर (घर्ती) ले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन् । वर्ष २०२१ का लागि विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने १० महिलाको सूचीमा उनको नाम परेको हो भने डब्लूडब्लूएसएफले हरेक वर्ष प्रदान गर्ने १ हजार डलर राशिको पुरस्कार समेत पाएकी हुन् ।

ग्रामीण सिर्जनशील महिला अवार्ड पाएको खबरले अझ बढी सिर्जनशील भएर काम गर्न प्रेरणा मिलेको उनले बताइन् । अक्टोबर १५ अर्थात् अन्तर्राष्ट्र्रिय ग्रामीण महिला दिवसका दिन यो पुरस्कार प्रदान गरिनेछ । उनले उत्पादक समूह, सहकारी, साना किसान, कृषि सहकारीबाट महिलालाई संगठित गर्दै नेतृत्व गर्न सफल हुनुका साथै कृषिलाई व्यवसायीकरण र बजारीकरण गर्न प्रेरणा र प्रोत्साहन गर्दै सामाजिक रुपान्तरण र आर्थिक समृद्दीको बाटोमा समाजलाई नेतृत्व गर्न सक्षम महिलाको सुचीमा उनको नाम समाबेश भएको छ । तिनाउ गाउँपालिकाका ३५घरका महिलाहरुलाई वित्तीय सुधारको क्षेत्रमा च्याउ उद्योगबाट प्रोत्साहित र आत्मनिर्भर बनाउन सफल हुनुका साथै राज्यका हरेक निकायमा महिलाहरुको समान सहभागिता,महिला शसक्तिकरण र समाजमा हुने सबैखाले विभेदका बिरुद्ध आन्दोलनमा सहभागि भई गणतन्त्र स्थापना महत्वपुर्ण भुमिका खेलेकाले उक्त पुरस्कार दिईएको डब्ल्युडब्ल्युएसएफले जनाएको छ ।

दिलकुमारीले सिद्धार्थ राजमार्ग छेउको आफनै घरमा व्यावसायिक च्याउ खेती गर्दै आएको १० बर्ष बित्यो ।आफु संग भएको १० हजार र सहकारी संस्थाबाट १० हजार ऋण लिएर २० हजारबाट सुरु गरेकी हुन् ।शुरुमा २०० डल्ला परालबाट च्याउ उत्पादन सुरु गरेकी उनको फार्ममा अहिले १ हजार ७ सय डल्ला परालबाट च्याउ उत्पादन हुँदै आएको छ । प्रत्येक बर्ष उनले च्याउमा लगानि थपेर व्यबसायलाई अगाडि बढाएकी छिन् । यो बर्ष ४ लाखको लगानी गरेकी उनले यो (बर्ष) सिजनको अन्तिम सम्ममा ८ लाख आम्दानी गर्ने योजनामा छिन् । यतिबेला उनी आफू बाहेक गाउंका अन्य ३५ परिवारका महिलाहरू समेत समुहमा आबद्ध गराई स्वरोजगार,आत्मनिर्भर बनाउन सक्रियरुपमा लागि परेकी छिन् । ३५ घर परिवारले यो सिजनको अन्तिम सम्ममा १ करोड २० लाखको हाराहारीमा आम्दानी गर्ने लक्ष्य रहेको बताउँछिन् ।

रोल्पाको दुर्गम थवाङ गाउँपालिकाको उवामा जन्मेकी उनी अर्घाखाचीं, कपिलवस्तुको शिवपुर हुँदै पाल्पाको तिनाउमा आएकी हुन् । सशस्त्र द्वन्द्वका बेला हतियार बोकेकी उनी २०५३ देखि ०६३ सम्म दस बर्ष भुमिगत जीवन बिताईन् । भुमिगत राजनीतिक कालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को पाल्पा र कपिलवस्तु जिल्ला अध्यक्ष समेत भैसकेकी दिलकुमारी शान्ति सम्झौतापछि भने दोभानको भूतखोलामा स्थायी बासीन्दाकै रुपमा छिन् । विगत सम्झदै उनले भनिन्, ‘द्धन्द्धकालमा हाम्रो आफनो भन्ने सम्पत्ती केहि थिएन ।शान्ति सम्झौतापछि हाम्रो जीवन दुःखद थियो,

एकातिर तीन छोराछोरी थिए भने अर्काे तिर खानाको लागि जोहो गर्ने कुनै विकल्प थिएन । केही काम गर्नुपर्छ भन्ने भयो । त्यसपछि च्याउ उत्पादन गर्ने सीपले नयाँ जीवन दिएको छ  ।सशस्त्र द्वन्द्वमा बन्दुक बोक्दाको साहस बिसाउँन र समाजमा आफुलाई समायोजन गर्न निकै मुस्किल भएको तितो यर्थाथता जीवनमा कहिल्यै भुल्न नसकेको अनुभब छ ।’
च्याउबाट बचत गरेको बजेटबाट घर व्यवहार चलाउन सहज,श्रीमानले चुनादमा लगाएको रिन तिर्न मात्र होईन हिजोआज पकेट खर्चका साथै अहिले आफनो नाममा सम्पत्ति समेत जेडिसकेको उनको भनाई छ ।
उनि भन्छिन् “हरेककुरा आवश्यकताले सिर्जना गर्ने रहेछ ।आफनो पेट पाल्न मात्र होईन स्थानीय महिलाको आर्थिक स्तर उकास्न सामुहिक रुपमा केही गर्नै पर्छ भन्ने मनमा थियो मेरो योजना परिवार लाई सुनाए अनि काम शुरु गरे ,कहिले मौसम अनुशारका तरकारी लगाए, कहिले कौशीखेती त कहिले सयपत्रि फुल खेती सिजन अनुशारका कृषि खेतिलाई निरन्तरता दिदै आएकी छिन् भने गाउका महिलाहरुका महिलाहरुले उत्पादन गरेको तरकारी तथा च्याउ समेत खरिद गर्ने गर्छिन् । शुरुमा उत्पादन गरेको सामानलाई आफैले बजार सम्म पुरर्यायनु पर्ने वाध्यता थियो भने अहिले व्यापारीहरु सामाग्रि खरिदका लागि र सम्मै आईपुग्ने गरेकाले बजारको कुनै समस्या नभएको बताउछिन् ।”

उनले “अक्टोबर १५ अर्थात् अन्तर्राष्ट्र्रिय ग्रामीण महिला दिवसका दिन पाउने पुरस्कारको केहि राशिलाई च्याउ उद्योगमा लगाउने र थप महिलाहरूलाई आत्मनिर्भर बनाउन पहल गर्ने बताईन ।”
काम गर्न चाहाने महिलाहरुलाई सरकारले प्याकेजमा कार्यक्रम ल्याउनु पर्ने उनको भनाई छ , अहिले सरकारले ल्याएका कार्यक्रमहरुमा लक्षित वर्ग समुदायको पहुंच पुग्न नसकेकको समेत गुनासो गरिन ।
दिलकुमारीले कृषिलाई व्यवसायीकरण, बजारीकरण गर्न प्रेरणा र प्रोत्साहन गर्दै आएकी छिन् भने तिनाउ गाउँपालिका भित्रका प्रत्येक टोल टोलमा पुगेर व्यावसायिक बन्नका लागि उनले ५ सय बढी महिला माझ प्रेरणा दिएको गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष राजेश श्रेष्ठले बताए ।यसरी व्यबसायिक कृषि गर्नका लागि गाउपालीकाले विशेष प्याकेज सहित बिभिन्न कार्यक्रम गरिरहेकाले मौकाको फाईदा लिन सबैलाई आह्वान गरको भनाई प्रवक्ता श्रेष्ठको छ ।
दिलकुमारीले २०४५ सालमा बिहे गरेकी हुन् । सामान्य साक्षर दिलकुमारीका श्रीमान तुलाराम घर्ती ’बसन्त’ यतिबेला माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तथा पार्टीका केन्द्रिय सदस्य छन् । १७ वर्षमा विवाह गरेकी उनका दुई छोरी र एक छोरा छन् ।