परासीमा तीन दशकयताकै ठूलो बाढी, चारको मृत्यु, दुई जना बेपत्ता, २५ सय घरमा क्षति

परासीमा तीन दशकयताकै ठूलो बाढी, चारको मृत्यु, दुई जना बेपत्ता, २५ सय घरमा क्षति

११ भदौ २०७८,

बुटवल– भीषण वर्षापछि आएको बाढीले बगाउँदा शुक्रबार चार जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता छन्। बाढीले बगाउँदा नवलपरासी पश्चिममा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८, बन्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षका प्रदीप रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए।

विज्ञापन

घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको लामाले जानकारी दिए। उनीहरूको शव केही तल खेतमा फेला परेको थियो। सुनवल नगरपालिका १४ की एलिसा तामाङ बेपत्ता भएकी छन्। तामाङको अवस्था अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए।

यस्तै रुपन्देहीको दानव खोलामा आएको बाढीले बगाउँदा ओमसतिया गाउँपालिका वडा नम्बर ४ बस्ने ५० वर्षीय रामेश्वर कहारको मृत्यु भएको छ। सम्मरीमाई गाउँपालिका–३ पिपरहवाका २३ वर्षीय बब्लु लोध बेपत्ता भएका छन्। शुक्रबार बिहान ६ बजेतिर खोलामा दाउरा खोज्न गएका बेला लोध बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

दाङमा बबई नदीले बगाउँदा एक जनाको ज्यान गएको छ। बिहान १० बजेतिर दंगीशरण गाउँपालिका १ बाँकी गाउँका ५० वर्षीय वामदेव देवकोटालाई बबई नदीले बगाएको प्रहरीले जनाएको छ।

नवलपरासी ९पश्चिम० को सदरमुकाम परासी बजारमा बाढीका कारण ३० वर्षयताकै ठूलो क्षति भएको छ। २०३८ र २०४५ सालमा परासी क्षेत्र डुबानमा परेको थियो। त्यसयता यस वर्ष ठूलो क्षेत्र डुबानमा परेको हो।

‘स्थानीय सरकारका तर्फबाट हामीले तथ्यांक संकलन गरिरहेका छौं। मानवीय क्षति ठूलो नभए पनि खाद्यान्न, पसलका सामान र उद्योगमा करोडौंको क्षति पुगेको छ।’
परासी बजार क्षेत्रमा ६ फिटसम्म बाढी पसेको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए। ‘मेरो सम्झनामा यति ठूलो पानी परेको थाहा छैन। परासी क्षेत्रका घर, उद्योग र पसलमा ठूलो क्षति पुगेको छ’, नगरप्रमुख गुप्ताले भने, ‘डुबानले करोडौंको क्षति पुगेको छ।’ उनका अनुसार परासी बजारसहित ग्रमीण भेगका बस्तीमा डुबानले ठूलो क्षति गराएको छ। ‘स्थानीय सरकारका तर्फबाट हामीले तथ्यांक संकलन गरिरहेका छौं। मानवीय क्षति ठूलो नभए पनि खाद्यान्न, पसलका सामान र उद्योगमा करोडौंको क्षति पुगेको छ’, उनले भने।

परासी बजार क्षेत्र राति २ बजेदेखि डुबानमा परेको हो। बिहान १० बजेसम्म निरन्तरको वर्षाले मानिस घरबाट बाहिर निस्कन नसकेको नवलपरासी ९पश्चिम० का प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बताए। झरही खोला र रामखण्ड खोलामा आएको बाढी ओभरफ्लो हुँदा परासीसहित अन्य गाउँपालिका डुबान परेको उनले बताए।

‘म बिहान ७ बजे कार्यालय पुग्दा जिल्ला प्रशासन भवन पूरै डुबेको थियो। यति ठूलो पानी पर्‍यो कि उद्धार गर्न जानसमेत कठिन भयो’, मिश्रले भने। उनका अनुसार रामग्रामसहित सुनवल, बर्दघाट नगरपालिकाका ७ वटै पालिका डुबानमा परेका हुन्।

प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार नवलपरासीमा १५ सय घर डुबानमा परेका छन। सुनवलको तुरिया खोला नजिकै डुबानमा परेका ५६ जनालाई छतबाट प्रहरीको सहयोगमा राति नै उद्धार गर्नुपरेको थियो।

जिल्ला प्रहरी कार्यालय नै डुबानमा परेको थियो। शिक्षा कार्यालय, घरेलु उद्योग, नेपाली सेनासहितका दर्जनौं सरकारी कार्यालय र सयौं स्थानीय सर्वसाधरणका घर डुबानमा परेका छन्।