ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
प्रदेशकै कम बेरुजु हुनेमा प्रदेशकै पहिलो बन्यो सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका

प्रदेशकै कम बेरुजु हुनेमा प्रदेशकै पहिलो बन्यो सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका

सल्यान, जेठ १

महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।

विज्ञापन

प्रतिवेदनले सार्वजनिक निकायहरूको खर्च, आर्थिक अनुशासन र बेरुजुको अवस्थाबारे विवरण प्रस्तुत गरेको छ।

प्रतिवेदन अनुसार कर्णाली प्रदेशका स्थानीय तहहरूमध्ये सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ। लेखापरीक्षण गरिएको १ अर्व ४४ करोड २८ लाख ७४ हजार रुपैयाँमध्ये जम्मा ६३ लाख ५३ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको हो, जुन कुल बजेटको मात्र ०.४४ प्रतिशत हो।

त्यसैगरी, प्रतिवेदनमा कर्णालीकै सबैभन्दा बढी बेरुजु देखिने पालिका सुर्खेतको चौकुने गाउँपालिका रहेको उल्लेख छ। त्यहाँ १ अर्व २८ करोड २९ लाख ३९ हजार रुपैयाँ खर्चमध्ये ९ करोड १६ लाख २५ हजार रुपैयाँ बेरुजु देखिएको छ, जुन ७.१४ प्रतिशत हो।

सल्यान जिल्लाका अन्य पालिकाहरूमा पनि तुलनात्मक रूपमा कम बेरुजु देखिएको छ। शारदा नगरपालिकामा जिल्ला कै बढी २.६८ प्रतिशत, बागचौरमा १.३५ प्रतिशत, त्रिवेणी गाउँपालिकामा ०.५८ प्रतिशत, कालिमाटी र छत्रेश्वरीमा ०.७८ प्रतिशत, दार्मामा ०.८४ प्रतिशत, कुमाखमा १.०७ प्रतिशत, कपुरकोटमा १.६५ प्रतिशत र सिद्धकुमाखमा २.२२ प्रतिशत बेरुजु देखिएको छ।

यस प्रतिवेदनले कर्णालीमा वित्तीय पारदर्शिता अभावले बेरुजु बढिरहेको संकेत गर्दछ। समयमै पेस्की फछ्र्योट नगर्नु, खर्चअनुसारको बिल नपेस गर्नु, र शीर्षक नमिल्ने खर्चले बेरुजु वृद्धि गरिरहेको उल्लेख छ। साथै, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता नहुनु पनि कारणका रूपमा औँल्याइएको छ।
महालेखाको प्रतिवेदनले बेरुजु घटाउन, लेखापरीक्षणको सिफारिस पालना गर्न, र आर्थिक अनुशासन सुधार गर्न सिफारिस गरेको छ।

 

बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत घर्ती कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहमध्ये बेरुजु सबैभन्दा कम बनाउन सफल भएका छन्।

महालेखा नियन्त्रण कार्यालयको प्रतिवेदन अनुसार घर्ती कार्यालय प्रमुख रहँदा आर्थिक वर्ष  २०८०/८१ मा कर्णाली प्रदेशका ७९ स्थानिय तह मध्ये सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको सबैभन्दा कम बेरुजु जम्मा (०.४४ %) कायम हुन सफल हुनुभएको हाे।

घर्ती प्रशासनिक रूपमा निकै कडा स्वभावका छन् । उनी राजनीतिक नेतृत्वको अनुचित दबावमा पर्दैनन् । नगरपालिकामा कार्यरत लेखा अधिकृत दिनेश भण्डारी र दिवानन्द आचार्य समेतको सहयोगका कारणले घर्तीले कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल भएका हुन्।

घर्ती हाल सिम्ता गाउँपालिकाको प्रमुख प्रशासय अधिकृतको रुपमा सरुवा भएर कार्यरत छन्।

उनले सामाजिक सञ्जालमा आफ्नो कार्यकालमा वनगाड कुपिण्डे नगरपालिकाको सबैभन्दा कम बेरुजु भएकोमा खुसी व्यक्त गरेका छन्।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता