आगोको ठेगाना
२५ फागुन २०८० सुर्खेत
आइमाई हुनु भनेको,
पँधेरोमा जम्नु मात्र होइन
सधैं त्याग्नु मात्र होइन
घाँसको डोकोमा अल्झिनु मात्र होइन
दुःखका भारीहरुमा बल्झिनु मात्र होइन
भान्सामा पाक्नु मात्र होइन
देवी–देवता भाक्नु मात्र होइन
चुरासँगै बज्नु मात्र होइन
दुखेर शीतसँगै खस्नु मात्र होइन
जिन्दगीलाई हार्नु मात्र होइन
सम्बन्धको डुङ्गा खियाउनु मात्र होइन
धर्ती हुनु मात्र पनि होइन
आमाले भनेकी छन्–
आइमाई हुनु भनेको त,
साहसको घोडामा काठी ठोक्नु पनि हो
पिठ्युँमा युग बोक्नु पनि हो
निर्भयको रथ हाँक्नु पनि हो
बन्धनको तगारो नाघ्नु पनि हो
आक्रोशको सीमारेखा कोर्नु पनि हो
विचारको आगो चोर्नु पनि हो
विभेदको पर्खाल फोर्नु पनि हो
चुल्ठोमा सिउरिएर आगोको ठेगाना
निकै अप्ठेरो बाटो हुँदै
म हिँडेकी छु आफैंलाई खोज्न…।
बिना थिङ
लेखकः अजात काधिरा गोरखा हाल काठमाडौ
#आगोको ठेगानासामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा