ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv
दलित समुदायका गुमनाम राजा र राज्यहरू

दलित समुदायका गुमनाम राजा र राज्यहरू

नेपाली राज्य र शासकसमेत मनुवादकै पाइलो पछ्याउँदै सत्ता, सम्पत्ति र शक्तिबाट बाहिरै राख्न उद्यत छ

नेपाल राज्य अस्तित्वमा आउनुअघि र मध्यकालमै सेन राजाहरूले नेपालको एकीकरणलाई पृथ्वीनारायण शाहले निरन्तरता दिई दुई सय ५० वर्षअघि भौगोलिक एकीकरणसम्म शिल्पी पूर्खाहरूले प्रत्यक्ष रूपमा नेपाल राष्ट्र निर्मांणमा सहयोग पु¥याएका थिए।

विज्ञापन

सीप, कला, प्रविधि, ज्ञान, विज्ञान, सस्कृति र संगीतले समाजलाई उत्प्रेरकको रूपमा चलायमान बनाएका थिए। उनीहरूले विकास गरेको विश्वकै प्राचीन सिन्धुघाँटी र कर्नाली सभ्यता र संस्कृतिलाई ब्राह्मण धर्ममा आधारित मनुवादी दर्शनका पक्षधर शासकहरूले नष्टीकरण र भ्रष्टीकरण गरिदिए।

निकृष्ट जातीय भेदभाव र छुवाछुतको असरले उनीहरूलाई सखाप पारियो। वर्तमान नेपाली राज्य र शासकसमेत मनुवादकै पाइलो पछ्याउँदै सत्ता, सम्पत्ति र शक्तिबाट बाहिरै राख्न उद्यत रहेको पाइन्छ। समावेशी समानुपातिकको नाममा उही राजा महेन्द्रकै पदचाप पछ्र्याइएको छ। उनीहरूको समेत नेपालको विभिन्न भूगोलभित्र विभिन्न राजाहरू र राज्यहरू रहेको तथ्य प्रमाण पाइएको छ।

बिडम्बना शासक र राज्य पुनर्संरचना आयोगले हावामा पो स्वायत्त राज्य बनाइदियो ! हुनत वर्तमान गणतन्त्रमा राजा र राज्यको बारेमा कुरा गर्दा असान्दर्भिक हुनसक्छ। तर वर्तमान पुस्तालाई हाम्रो पूर्खाको गौरवशाली इतिहासको जानकारी गराई आत्मगौरव र शक्ति आर्जन गर्न भने अवश्य पनि बल पुग्नेछ।

प्राचीन राज्यको अवधारणा


प्राचीन कालदेखि राज्य र सामूहिक जीवनलाई व्यवस्थित र समुन्नत बनाउने प्रयासका साथै सुरु हुन्छ। प्राचीन युनान, भारत तथा चीनमा यसको विकसित रूप देख्न सकिन्छ। प्राचीन ग्रीक, युनान तथा रोमबाट विकास भएको नगर राज्यको अवधारणाबाट विकास भएको राज्यहरू नै आधुनिक राज्यको विकसित रूप हो। त्यो बेलामा जसलाई आदर्श राज्यको रूपमा विकास गरिएको थियो। त्यस समय ग्रीकको राज्य, राजनीतिक व्यवस्था तथा सामाजिक स्थिति भिन्न थियो। यति मात्र होइन, प्राचीन अवस्थाको भारत, चीन, इरान, मिश्र आदिको भन्दा पनि पूर्णत: भिन्न रहेकाले गर्दा राजदर्शन समेत अलगरूपमा विकास हुन गयो। भारत, चीनजस्ता मुलुकमा ठुला र समतल भूमि भएका राज्यव्यवस्था थिए भने युनानमा स्थानीय प्रदेश, खाडी, उपत्यका र पर्वतीय श्रेणीमा अवस्थित साना नगर राज्य थिए।

प्राचीन नेपालमा संघ राज्य


करिब ६०० ईसापूर्व उता उन्नत अवस्थाम पुगेको मानिएको नेपाल तराईको विदेह (मिथिला) राज्यमा दास प्रथा रहेको प्रमाण पाइएको छ।

अहिलेसम्म जानकारीमा आएको प्राचीन इतिहास र पछिल्लो इतिहासको आधारमा हेर्दा नेपालमा काठमाडौंको गोपाल राज्य, जनकपुर मिथिलाको विदेह राज्य, नवलपरासीको कोलीय राज्य, लुम्बिनी कपिलवस्तुको शाक्य राज्य, पूर्वी नेपालको किराँत राज्य, तराईको सिम्रौनगढ राज्य, कर्नाली प्रदेशको शिल्पी र खस राज्यहरूका बारेमा गहन अध्ययन नगरी नेपालको वास्तविक इतिहास बुझ्न कठिन नै हुनेछ।

दक्षिण तराईमा तिरहुत राज्यमा सन् १०९७ देखि १३२५ सम्म कर्णाटवंशी डोय राज्य चल्न गयो। मुसलमानहरूको आक्रमणले यो राज्यको पतन भएको थियो। ई.सं. १५१३ देखि १७६२ को अवधिमा पाल्पादेखि मोरङसम्म सेन राज्य विस्तार भएको थियो।

गुमनाम राजा र राज्य


इतिहास जित्नेहरूको मात्रै लेखिन्छ, हार्नेहरूको लेखिँदैन। यस्तै भएको छ, नेपालका शिल्पी (कथित दलित) हरूको हकमा पनि। केही समुदायको राजा र राज्यको बारेमा चर्चामा आए पनि धेरैको इतिहास लेख्न नेपाली इतिहासकारहरूले आनाकानी र कन्जुस्याइँ गरेको पाइएको छ। यसो किन भयो त ? भन्ने प्रश्नमा दुई तीनवटा गम्भीर आशंका उब्जिएको पाइन्छ।

१) विगतमा यी समुदायको गौरवशाली इतिहास र सभ्यतालाई हडपेर राज्यसत्ता कब्जा गरिएकाले।

२) जातीय विभेद र छुवाछुतको अस्त्र प्रयोग गरी जीवनयापनका सबै कुराबाट अलगअलग गरी निर्जिवीकरण गरिएकाले।

३) उनीहरूको तथ्य इतिहास बाहिर ल्याउँदा राज्य हडपेर रजाइँ गरिरहेकाहरूकै विरुद्ध विद्रोह गर्ने मनोवैज्ञानिक त्रासले गर्दा इतिहास लेखिएन। शिल्पी समुदायको राजा र राज्यहरूको विवरण यस प्रकार छ :

दुसाध राजा

दसौ शताब्दीभन्दा अघि वर्तमान नेपालको सिरहा जिल्लामा राज्य केन्द्र बनाएर भारतको बिहार अलिगढदेखि नेपालको सप्तरी, सिरहासम्म शहलेश, चौहरमल, विजयमल, मकराझाँसी लगायतका दुसाध राजाहरूले क्रमश: राजा बनेर राज्यशासन गरेको इतिहास भेटिन्छ। साथै दिनाभद्री मुसहर जातिको राजा र वेन डोम जातिको राजाले राज्य गरेको पाइन्छ। नयाँ वर्षको १ गते अहिलेसम्म पनि यहाँ मेला लाग्ने गर्दछ। १ गते मात्रै विश्वमै अनौठो फूल फुल्ने गर्दछ। मानिसहरूले यो फूल हेर्नका लागि घुइँचो नै लाग्ने गर्दछ।

पासी (पासवान) राजा


पासी जातिका राजाहरूले नवौं शताब्दीदेखि चौधौं शताब्दीसम्म वर्तमान भारतको उत्तर प्रदेशको अवध क्षेत्रमा राज्यशासन गरेका थिए। जसमा लखनऊमा लाखन, विजनौरमा बिजुली, कसमण्डीमा कंश, मलिहावादमा मलिहा, नलग्राममा नल, सातनकोटमा सातन, ककोरगढमा ककोरन, डलमउमा डालदेव लगायतका पासी (पासवान) राजाहरूले लगभग पाँच सय वर्ष जति राज्य शासन गरेका थिए।

वादी राजा खस साम्राज्यको उदय हुनुभन्दा अघि वादी राजाहरूले वर्तमान नेपालको प्यूठान जिल्लामा पर्ने वादीकोट (पहिला गाविस) मा राज्यकेन्द्र बनाएर राजकाज र शासन गरेको कुरा महाभारतमा उल्लेख गरिएको पाइन्छ। नयाँ संरचनाअनुसार वादीकोटको नाम परिवर्तन गरिएको छ। राजा र राज्यशासन गरिसकेको गौरवशाली वादी जातिलाई आजसम्म पनि हेयभाव र गलत शासकीय दृष्टिकोणले हेरिने गरिन्छ।

गन्धर्व राजा


एघारौं शताब्दीभन्दा अघि वर्तमान नेपालको बाग्लुङ जिल्लामा पर्ने गनाम, गल्कोट (गन्धर्वकोट), गह्रौं, गजुर लगायतका स्थानहरूमा गन्धर्व जातिका राजाहरूले राज्यशासन गरेका थिए। महाभारतकालीन अवस्थामा चित्रसेन, चित्ररथ, चित्रांगद, इन्द्रकुमार लगायतका गन्धर्व राजाहरूले प्राचीन मणीपुरमा राज्यकेन्द्र बनाएर राजकाज र शासन गरेको कुरा महाभारत ग्रन्थमा उल्लेख गरिएको छ। बाग्लुङमा गन्धर्वकोट राज्य थियो भने कास्कीको माछापुच्छ्रे हिमश्रृंखलामा अहिले पनि गन्धर्वचुली (६,२४८ मिटर) हिमाल हाँसिरहेको छ। तर आज गन्धर्व जाति सडकमै रुन विवश छन्।

दमाई (दर्जी) राजा


एघारौ शताब्दीभन्दा पनि निकैअघि अर्थात् खस साम्राज्यको उदय हुनुभन्दा अघि वर्तमान नेपालको अछाम जिल्लाको दर्नाकोट, सल्यान जिल्लाको दार्माकोट लगायतका स्थानहरूमा राज्य केन्द्र बनाएर दमाई (दर्जी) राजाहरूले राजकाज र शासन गरेको तथ्य प्रमाणहरू पाइएको छ। दमाई (दर्जी) एक महत्त्वपूर्ण प्राचीन राजवंश भएको तथ्य प्रमाण डा. नवल वियोगीद्धारा लिखित भारतकी आदिवासी नाग सभ्यता नामक ग्रन्थको पृष्ठ ७२ मा उल्लेख गरिएको छ।

आग्री राजा


खस साम्राज्यको उदय हुनुभन्दा अघि वर्तमान नेपालको सुर्खेत जिल्लाको आग्रीग्राम, बझाङ जिल्लाको थलहराकोट (आग्रीकोट) लगायतका ऐतिहासिक स्थलहरूमा विश्वकर्मा राजाहरूले राजकाज गरिएको पाइन्छ। अहिले पनि भौगोलिक तथ्यको रूपमा सप्रमाण रहेको देख्न सकिन्छ।

सुवर्णकार राजा


खस साम्राज्य फैलिनुभन्दा अघि वर्तमान नेपालको जुम्लाको सुवर्ण नगर (सुनार गाउँ), बझाङको सुनीकोट लगायतका स्थानहरूमा राज्यकेन्द्र बनाएर सुवर्णकार राजाहरूले राज्यशासन गरेको पाइन्छ। पन्ध्रौं शताब्दीमा सपादलक्षका सम्राट क्राचल्लदेवका सेनाले सुवर्णभूमिमाथि कब्जा गरी सुवर्णभूमि नरेश देशददेवले पराजय भोग्नु परेको थियो। यसबाहेक वर्तमान नेपालका परिप्रसंगमा नियाल्दा कामी समाजद्धारा कतै कुनै विप्लवमा भाग लिएको इतिहास पाइएको छैन। श्रीपाली वा सिरपाली (मध्यकालको श्रीपाल राज्य, वर्तमान बझाङ जिल्ला), खाती (खातागाउँ बिर्ता, कालीकोट जिल्ला) बझाङ जिल्लाको सुनारकोटका एक महत्त्वपूर्ण प्रभावशाली राजा कालु सुनेल थिए भन्ने कुरा डा. सूर्यमणि अधिकारीद्धारा लिखित ‘बाइसे राज्यको इतिहास’ पुस्तकमा उल्लेख गरिएको पाइन्छ।

लोहार (कामी) राजा


एघारौं शताब्दीभन्दा अघि कास्मिरमा राज्यकेन्द्र बनाएर लोहार (कामी) राजाहरूले राज्य गरेको पाइन्छ। लोहार वंशका एक महत्वपूर्ण प्रभावशाली राजा अन्नतदेव थिए भन्ने कुरा डा. नवल वियोगीद्धारा लिखित प्राचीन भारतके शासक नाग, उनकी उत्पत्ति और इतिहास नामक ग्रन्थको अध्याय १०, मानवीर सिंह रसाइलीद्धारा लिखित विश्वब्राम्हण वर्णन र वालकृष्ण एम.ए.द्धारा लिखित भारत वर्षको संक्षिप्त इतिहास प्रथम भागमा उल्लेख गरिएको पाइन्छ। कालीकोट जिल्लाका रास्कोटी राजा मलय बर्माले लुहारकोटी राजा देवजंग लुहारलाई अपदस्थ गरी राज्य हत्याएका थिए। देवजंगको दरबारमा चार दाजुभाइ र रानी देवानी लुहारलाई आगो लगाइ हत्या गरिएको थियो। सो कुरा देवजंगका १७औं राजवंश शंकरे लुहारका नाति दानबहादुर लुहारले बताएका छन्।

कोली (कामी) राजा


मानव समाजको प्राचीन अवस्थादेखि अठारौं शताब्दीसम्म रामग्राम, देवदह, पटना, कुमाउँ, गढवाल, गुजरात, पञ्जाव, महाराष्टको कोल्हापुर लगायतका स्थानहरूमा राज्यकेन्द्र बनाएर कोली वंशका राजाहरूले राजकाज र शासन गरेको इतिहासमा उल्लेख गरिएको पाइन्छ। कोली, कोरी, मौर्य, मद्र, कुषाण, कलिङ, कुलिन्दा, कुल्लु, कोली नै हुन् भन्ने कुरा कन्हैलाल चञ्चरिकद्धारा लिखित कोली जातिका इतिहासमा उल्लेख गरिएको छ।

ई.पूं. ५०० भन्दाअघि वर्तमान नेपालको नवलपरासी र रूपन्देही जिल्लामा पर्ने रामग्राम र देवदहमा क्रमश: रामसिंह, कर्मसिंह, अञ्जन, शुप, डण्डपाणी, देवदत लगायतका कोली राजाहरूको पूर्वमा गण्डकी नदी, पश्चिममा रोहिणी नदी, दक्षिणमा वर्तमान भारतको गोरखपुर र उत्तरमा हिमालसम्मको भूभागमा राज्य शासन गरेको कुरा भारत तथा नेपालका प्राचीन इतिहासमा उल्लेख छ।

चमारवंशीय (सार्की) राजा चँवंर, चमार, चौर, चालुक्य, सौर, शवर, गहवार, शंखवार, महार, चोल, भील, भुल, भगैल, सोलंकी, साड्की, सार्की लगायतका जातिहरू चमर जाति अन्र्तगत नै पर्दछन्।

चमार वंशका राजाहरूले मानव समाजको आदिम अवस्थादेखि एघारौं शताब्दीसम्म चमरावती, चितौड, राजस्थान, सौराष्ट, महाराष्ट्र, अनहिलवाड, वल्लभी, वाराणसी, दिल्ली, उज्जैन, कनौजसम्म राज्यशासन गरेका थिए।

जसमा कर्णदेव प्रथम, बालभुलदेव, विसलदेव, भीमदेव द्धितीय, अर्जुनदेव, सारङ्देव, कर्णदेव द्धितीय लगायतका चमार (सार्की) वंशीय राजाहरूले लामो समयसम्म राजकाज र शासन गरेको कुरा के.पी. शंखवारद्धारा लिखित शुद्रोका खोजपूर्ण इतिहास अर्थात् सच्चा भारतका इतिहासमा उल्लेख गरिएको छ।

चमर राजा सारङ्देव (सार्कीदेव) ले एघारौं शताब्दीतिर उत्तरी भारतको साथै नेपाल समेतमा राज्य शासन गरेका तथ्य प्रमाणहरू भेटिन्छन्। सार्की राजा सारङ्देवले राज्यकेन्द्र बनाएको वर्तमान नेपालको कास्की जिल्लाको सारङकोट र हुम्ला जिल्लाको सार्कीदेव, बझाङ जिल्लाको भुलकोट, मुगु जिल्लाको भियालकोट जस्ता र पुरातात्त्विक महत्त्वका स्थलहरू तथ्य प्रमाणको रूपमा जीवितै रहेका छन्।

सार्की राजाहरूले छालाको मुद्रासमेत चलाएको कुरा इतिहासकार र जानकारहरू बताउँछन्।

दशौ शताब्दीतिर वर्तमान नेपालको बारा जिल्लामा पर्ने सिम्रौनगढमा राज्यकेन्द्र बनाएर चालुक्य वंशका न्यान्यदेव, जंगदेव, नरसिंहदेव, रामसिंह देव, शक्तिसिंह देव, भूपालसिंह देव, हरिसिंह देव लगायतका कर्णाटकी चालुक्य राजाहरूले तिरहुतमा राज्य शासन गरेको पाइन्छ।

जो सार्की चँवरवंशी नै थिए। जसलाई डोय राजा पनि भन्ने गरिन्छ। यो तथ्यलाई डा. सुरेन्द्र केसीद्धारा लिखित प्राचीन तथा मध्यकालीन नेपाल लगायतका ग्रन्थमा उल्लेख गरिएको पाइन्छ।

डिंगाकोटी राजा


वर्तमान नेपालको बैतडी जिल्लाको पुर्चौडीको न्वाकोटको जमाडी खोलाको नजिक रहेको डिंगाकोटमा पालहरूको आगमनपूर्व जुन डिंगाकोटी राजाहरूको राज्य रहेको कुरा आज पनि विभिन्न जानकार र इतिहासकारहरूले उल्लेख गरेका छन्।

यसबाट के प्रमाणित हुन्छ भने त्यस बेलाका शुद्र (डोम) राजा र राज्यहरू रहेको प्रमाणित हुन्छ। डिंगाको अर्थ हुन्छ– गाई, गोरु, भैंसी खाने। जो अनार्य, अहिन्दू वर्गभित्र पर्दछन्।

यी पशुवस्तुलाई पनि डिंगा भनिन्छ। डिंगा खानेहरूको बस्ती र समाजलाई डिंगाकोट वा डिंगाकोटी नामकरण समेत गरिएको हुनुपर्छ। अहिले पनि यो कोट भुल (सार्की) समुदायको रेखदेख र अधिनमा छ।

त्यसैगरी डोटीको डुम्राकोटमा दोष जातिको राज्य रहेको कारण नै डोटी जिल्लाको नामाकरण रहेको कुरा इतिहासविद्हरूको भनाइबाट वैदिक आर्यहरू आउनुभन्दा निकै अगाडि नै अनार्य, अहिन्दू शुद्र जातिहरूको गौरवपूर्ण राज्य र राजाहरू रहेको प्रमाणित हुन्छ।

पुछारमा


इतिहासविद् केसी र प्रा. बालकृष्ण पोखरेलका अनुसार खस जातिले ईस्वी संवत्को सुरुको आसपास चार सय वर्ष भन्दाबढी कुमाउँ गढवालमा शासन गरेको इतिहासको अध्ययनले बताउँछ। ईसाको छैटौं शताब्दीतिर नेपालको कर्नाली भेगतिर खसहरू ठुलो दलबलसहित कर्नाली प्रवेश गरेको तथ्यप्रमाण पाइन्छ। १२औं शताब्दीमा खस उपनिवेश साम्राज्यको स्थापना भएको पाइन्छ। खसबाहुनहरू पाँचौ–छैटौं शताब्दीमा सुदूरपश्चिम र कर्नाली क्षेत्रमा आउनुभन्दा शताब्दीऔं अघिनै वर्तमान समयमा शिल्पी (कथित दलित) भनिने जातीय समूहहरू यहाँ आइसकेको जनकलाल शर्मा, डा. केशवमान शाक्य, डा.सुरेन्द्र के.सी., डा.महेश्वर जोशी, प्रा.डा. जयराज पन्त, डिल्लीराज शर्मा र नवराज सुवेदीलगायत इतिहास एवं संस्कृतिविद्हरूले पुष्टि गरेका छन्।