नेपालमा राजनीतिक प्रदूषणको दुश्चक्र र बर्गिय असमानता

नेपालमा राजनीतिक प्रदूषणको दुश्चक्र र बर्गिय असमानता

कमल परियार

प्रकृतिको नियमअनुसार हरेक वस्तुमा प्रदुषण हुन्छ । ब्रह्माण्डको कुनै पनि चिज प्रदूषणरहित हुँदैन । मानव शरीरमा पनि प्रदूषण भइरहने भएकाले औषधि विज्ञानको विकास भएको हो । प्रदूषण सार्वभौमिक, सर्वकालिक र सर्वदेशीय हुन्छ । हरेक वस्तुमा ‘ब्याक्टेरिया’ले आक्रमण गरेर प्रदूषण भएजस्तै भौतिक वस्तुहरुमामात्रै होइन, मानसिक चिजहरुमा समेत प्रदूषण हुने गर्दछ । कुनै पनि मानिसको शरीरमात्रै होइन, मनलाई पनि बेलाबेला सफा गरिरहनुपर्दछ, अन्यथा मानसिक प्रदूषण हुने गर्छ ।

विश्व ब्रह्माण्डका हरेक भौतिक तथा मानसिक वस्तुहरु प्रदूषणमुक्त नहुने भएपछि राजनीतिचाहिँ प्रदूषणबाट मुक्त हुन्छ भन्नु सही होइन । राजनीति मानिसको सामाजिक क्रियाकलापको एउटा महत्वपूर्ण अंग भएकाले यसमा पनि बारम्बार प्रदूषण भइरहन्छ । अहिलेसम्मको राजनीतिशास्त्रको इतिहास भनेकै राज्य सञ्चालनमा देखिने प्रदूषण र त्यसलाई हटाउन गरिँदै आएको संघर्षको फेहरिस्त हो ।

धार्मिक आदर्शका कथाहरु, प्लेटोले प्रतिपादन गरेको आदर्श राज्य या मेकियावेलीले व्याख्या गरेको अधिकारसम्पन्न राज्यको कुरा नै किन नहोस्, यी सबै राजनीतिक वा सामाजिक प्रदूषणबाट मुक्त हुने उपायको खोजी नै हो । हब्स, लक र रुसोले भनेको सामाजिक सम्झौताको सिद्धान्त होस् या कार्ल मार्क्सले भनेको साम्यवाद नै किन नहोस्,यी सबै सिद्धान्तहरु राजनीतिक प्रदूषणलाई हटाउने उपायका खोजी नै हुन् ।

तथापि अहिलेसम्म जति पनि राजनीतिक सिद्धान्तहरु विकसित गरिए, तिनले राजनीतिक प्रदूषणलाई केही समयका लागि रोके पनि सदाका लागि प्रदूषण हटाउन भने सकेनन् ।मार्क्सवादले साम्यवाद आएपछि सबैखाले प्रदूषण हट्ने कुरा त बतायो, तर साम्यवादमा नपुग्दै वीचैमा मार्क्सवादी राज्यहरु, पार्टीहरु प्रदूषित बन्न पुगे । राज्य प्राप्त नहुँदै वा क्रान्ति सम्पन्न नहुँदै कम्युनिष्ट पार्टीहरु प्रदूषित भएर पतन भए, भइरहेका छन् । यसले के पुष्टि गर्दछ भने अहिलेसम्म प्रदूषण हटाउने नाममा जे जति दर्शन, सिद्धान्तका उपायहरु बाहिर आए, ती कुनै पनि पूर्ण र पर्याप्त हुन सकेका छैनन् ।

नेपालमा राजनीतिक प्रदूषणको दुश्चक्र


नेपालको राजनीतिमा प्रदूषणको दुश्चक्रले एउटा स्पष्ट प्रणाली बनाइरहेको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिले बाइसे–चौविसे लगायतका स–साना राज्यहरु थिए । ती कविला अवस्थाबाट विकसित भएका वंश–राज्यहरु थिए । प्राकृतिक अवस्थाबाट राज्य भैसकेपछि त्यहाँ प्रदूषण शुरु हुनु स्वाभाविकै थियो । दाजुभाइमा झगडा भएर राज्यहरु टुक्रन थाले । यक्ष मल्लको विशाल राज्य आन्तरिक प्रदूषणकै कारणले टुक्रिएको थियो । त्यही प्रदूषणको मौकामा पृथ्वीनारायण शाहले विशाल नेपाल बनाउने भन्दै ‘शुद्धतावादी सिद्धान्त’का आधारमा राज्य विस्तार अभियान शुरु गरे । शाह वंशले अन्य राज्यहरु मासेर एउटै राज्य निर्माण ग¥यो र अहिलेको नेपालको नक्शा तयार भयो । आधुनिक नेपाल राज्यको निर्माण सामाजिक सम्झौता वा सहमतिका आधारमा नभई बल प्रयोगको सिद्धान्तका आधारमा गरिएको हो । बन्दुकको नालबाट नेपाल राज्यको निर्माण भएको हो ।

प्रदूषणको सर्वव्यापी सिद्धान्तबाट शाह वंशको राज्य पनि अछुतो हुने कुरै थिएन । नेपालको एकीकरण सँगसँगै राजपरिवार र भारदारहरुमा प्रदुषण शुरु भैहाल्यो । बहादुर शाह र राज्य लक्ष्मीवीचको झगडा, रणबहादुर शाहमा देखिएको पागलपन अनि सुरेन्द्रविक्रमलाई मारेर देवेन्द्रलाई राजा बनाउने दरबारिया षडयन्त्रका कारण कोतपर्वको जन्म भयो । शाहकालीन प्रदूषणको जगमा राणा शासनको उदय भयो । शाहवंशको झगडा कुनै वर्ग संघर्ष थिएन, उनीहरु एकै वर्गका प्रतिनिधि थिए ।

वि.सं. १८२५ मा स्थापना भएको केन्द्रीकृत शाही शासनमा प्रदूषण सुरु भएर राणाहरु सत्तामा आउन ७८ वर्षको अवधि लागेको थियो । त्यसपछि राणाहरुले १०४ वर्षसम्म शासन चलाए ।
यदि सत्तामा प्रदूषण नहुने र त्यो नढल्ने भए अहिलेसम्म राणा शासन रहिरहन्थ्यो होला । तर, राणा शासनभित्र पनि प्रदूषण भयो र राणा शासन ढल्यो । राणाहरु आपसमा विभाजित भए । उनीहरुले चलाएको अत्याचारी शासनका विरुद्ध विशेषतः कांग्रेस पार्टीले शुद्धतावादको प्रचार–प्रसार ग¥यो, जनताले क्रान्तिमार्फत् कांग्रेसलाई साथ दिए । वि.सं ०१५ सालको चुनावमा दुई तिहाइ मत दिएर नयाँ शक्तिका रुपमा नेपाली कांग्रेसलाई जनताले सत्तामा पु¥याए । कम्युनिष्ट पार्टीले पनि ००७ सालको परिवर्तनमा सहयोगी भूमिका खेल्यो ।

नेपाल एकीकरणदेखि आधुनिक नेपालसम्म आइपुग्दा राजनीतिक प्रदूषण र शुद्धतावादको द्वैध संघर्ष प्रष्टैसँग देख्न सकिन्छ । स–साना बाइसे चौबीसे राज्यमा भएको प्रदूषणमा टेकेर पृथ्वीनारायण शाहले शुद्धतावादको आडमा एकीकरण अभियान चलाएका थिए । त्यसपछि राजपरिवारमा देखिएको प्रदूषण हटाउने नाममा जंगबहादुरले शासन हातमा लिए । र, राणाहरुमा देखिएको प्रदुषणको विरोधमा नेपाली कांग्रेस र कम्युनष्टिहरुले अर्को शुद्धतावादी आन्दोलनमार्फत राणा शासनको प्रदूषण हटाए ।

वि.सं ००७ सालदेखि ०१७ सालको अवधिमा दलहरुमा जुन प्रकारको झगडा, गैरजिम्मेवारीपन एवं राष्ट्रियतामाथि भारतीय चलखेल बढेको थियो, त्यसैलाई निहुँ बनाएर राजा महेन्द्रले विकास र राष्ट्रवादको शुद्धतावादी नाराका आधारमा सत्ता कब्जा गरे । महेन्द्रको कदम ‘क्रान्ति’ नभएर ‘कु’ नै भएता पनि त्यो कदम ‘राजनीतिक प्रदूषण’ हटाउने नाममै अगाडि आएको हो । पञ्चायती व्यवस्था जतिसुकै शुद्ध परिकल्पनाका आधारमा स्थापना गरिएको भएता पनि त्यसमा पनि प्रदूषण भयो । दरबारिया शक्ति र पञ्चहरुमा विकृति, विभाजन र प्रदूषण बढ्दै गएपछि कांग्रेस–कम्युनिष्टले त्यसलाई नारा बनाएर प्रजातन्त्रमा यस्ता समस्या समाधान हुन्छन् अनि ‘रामराज्य’ कायम हुन्छ भन्दै जनताको विश्वास जिते । ०४६ सालमा ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य भयो ।

पञ्चायतको अन्त्यपछि कांग्रेस र कम्युनिष्टहरु पालैपालो सत्तामा गए । सत्तामा गएपछि उनीहरुमा पनि प्रदूषण बढिहाल्यो । संसदवादी दलहरु भ्रष्ट, गैरजिम्मेवार तथा राजनीतिक प्रदूषणले ग्रस्त भएपछि एकातिर राजावादीहरु शुद्धतावादी विकल्पको दाबी गर्दै मञ्चमा देखापरे भने अर्कातिर माओवादीहरु नयाँ विकल्पका रुपमा अर्को शुद्धतावादको नारा लिएर अगाडि आए । अन्ततः ०५९ सालबाट राजनीतिक प्रदूषण हटाउने नाममा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए । तर, उनी आफैं विलासी र भ्रष्ट भएकाले माओवादी र संसदवादीको शुद्धतावादका अगाडि उनको दाल गलेन । फलतः ०६२/०६३ को आन्दोलनमार्फत् जनताले पुनः संसदवादी र माओवादीलाई एकैसाथ सत्तामा पुर्याएपछि ज्ञानेन्द्रले वनवास जानुपर्यो ।

यहाँ स्मरणीय कुरा के छ भने ०६२/०६३ को आन्दोलनमा कांग्रेसका नेताहरुले हामी शुद्ध बन्यौं, अब भ्रष्टाचार गर्दैनौं भनेर जनतासित पटक–पटक कसम खाएका थिए । यसले के सिद्ध गर्दछ भने नयाँ शक्ति सत्तामा जाने महत्वपूर्ण आधार भनेको शुद्धतावादको नारा नै हो । अर्काेतर्फ कांग्रेस प्रति विश्वास गुमाएका जनताले संविधानसभाको चुनावमा नयाँ नारा लिएर आएको (माओवादी) लाई सघाए, जसका कारण माओवादी ठूलो दलका रुपमा स्थापित भयो । यस परिघटनाले पनि जनताले पुरानो प्रदूषणयुक्त शक्तिलाई परास्त गर्न सधैं नयाँलाई नै सघाउँछन् भन्ने देखाउँछ । तर, के अब ०६२/०६३ को जनआन्दोलनबाट स्थापित यिनै काङ्ग्रेस र माओवादीले नै युग–युगसम्म नेपालमा शासन गर्लान् त ? अहँ गर्दैनन् । यिनीहरु पनि सत्तामा गएपछि प्रदूषित हुँदै जानेछन् र भइरहेका छन् ।

नेपालमा अब फेरि अर्को शक्तिले शुद्धतावादी नारा लिएर जनतालाई अगाडि सार्नेछ । त्यसपछि प्रदूषित सत्ताको निषेध भई नयाँ कथित शुद्धतावादी शक्ति शासन गर्न आइपुग्नेछ । तर, विस्तारै फेरि ऊ पनि प्रदूषित हुनेछ र अर्को शक्तिको उदय हुनेछ । नेपालको राजनीति यसैगरी प्रदूषण सिद्धान्तका आधारमा अगाडि बढ्छ र बढिरहेको छ । राजनीतिक प्रदूषणको सिद्धान्तअनुसार नेपालमा के अब पुनः राजतन्त्रको पुनर्स्थापना हुन सक्छ ? या अर्कै नयाँ शक्ति अगाडि आउनेछ ? कि कांग्रेस,माओवादीले जसपावीच एकापसमा सत्ता सरेर प्रदूषणको चक्र पूरा हुनेछ ? यी प्रश्नमा स्पष्ट हुनका लागि सबैभन्दा पहिले हामीले राजनीतिक प्रदूषणका सामान्य नियमहरुका आधारमा विश्लेषण गर्नुपर्ने हुन्छ ।

प्रदूषणका सामान्य नियम

उल्लेखित तथ्य एवं प्रमाणहरुका आधारमा संश्लेषण गर्दा के निचोड निकाल्न सकिन्छ भने प्रदूषणको आफ्नै किसिमको नियम हुन्छ । यसको नियमलाई सामान्य नियम र विशिष्ट नियम गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ । सामान्यतः प्रदूषणका ६ वटा सामान्य नियमहरु छन् ।

१. प्रदूषण सर्वव्यापी, सर्वकालिक र सर्वदेशीय हुन्छ ।


जसरी रोगविहीन जीवको कल्पना गर्न सकिँदैन, त्यसैगरी प्रदूषणविहीन समाज वा प्रदूषणविहीन राज्यको पनि कल्पना गर्न सकिँदैन ।
प्रदूषण ब्रह्माण्डमा पनि हुन्छ । खगोलशास्त्रीहरुले सूर्य र पृथ्वीको पनि आयु तोकेका छन् ।
भौतिक जगत, प्राणी जगत वा वातावरणमा हुने प्रदूषणलाई केही समयसम्म रोक्न रकम गर्नमात्रै सकिन्छ तर, सधैंका लागि निर्मूल पार्न सकिँदैन । समाज विज्ञान र राजनीतिशास्त्रमा पनि यही कुरा सत्य हो ।
जसरी घरलाई प्रदूषण मुक्त राख्नका लागि निरन्तर सरसफाइ गरिरहनु पर्दछ, त्यसैगरी समाज र राजनीतिलाई पनि एकपटक मात्रै गरेको शुद्धीकरणले पुग्दैन । यो सर्वकालिक हुन्छ ।
एकपटक क्रान्ति वा निर्वाचनका माध्यमबाट स्थापना गरेको व्यवस्था सधैंभरि स्वच्छ रहिरहँदैन र प्रदूषणका कारण भ्रष्ट बन्न पुग्दछ ।

. सबै विचारधारा, वाद वा व्यवस्थामा प्रदूषण हुन्छ


कुनै पनि राजनीतिक व्यवस्था प्रदूषणबाट पूर्णरुपमा मुक्त छैन र हुन सक्दैन । कम्युनिज्ममा पनि प्रदूषण हुन्छ, पुँजीवादी व्यवस्थामा पनि प्रदूषण हुन्छ । निरंकुशता वा लोकतन्त्र, एकात्मक वा संघात्मक, संसदीय वा अध्यक्षात्मक, कुनै पनि व्यवस्थाहरु राजनीतिक प्रदुषणबाट मुक्त हुँदैनन् ।
आदिम साम्यवाद, दास युग, सामन्तवादी व्यवस्था, पुँजीवाद वा समाजवाद, सबैव्यवस्थाभित्र प्रदूषण थियो÷छ । साम्यवादमा पनि प्रदूषण हुन्छ ।
कार्ल मार्क्स स्वयंले परिवर्तनलाई सार्वभौम र सर्वकालिक भनेका हुनाले साम्यवाद पनि अपरिवर्तनीय एवं प्रदूषणविहीन व्यवस्था होइन ।
मार्क्सले परिकल्पना गरेको साम्यवादसम्म नपुग्दै समाजवादी राज्यव्यवस्थाभित्रै राजनीतिक प्रदूषण भएका उदाहरणहरु विश्व इतिहासमा पाइएका छन् । नौलो जनवाद,बहुदलीय जनवाद वा एक्काइशौं शातब्दीको जनवाद, कुनै पनि प्रणालीहरु राजनीतिक प्रदूषणबाट मुक्त हुँदैनन् ।
जनवादी व्यवस्थासम्म नपुग्दै कम्युनिष्ट पार्टीभित्रै प्रदूषण हुन्छ र कम्युनिष्ट पार्टीहरु वीचैमा बिग्रन्छन् । यही भएर कम्युनिष्ट पार्टीभित्र ‘संशोधनवादको विरोध’, ‘पार्टी शुद्धीकरण’, ‘सर्वहाराकरण’, ‘दुईलाइन संघर्ष’, ‘सर्वहारा सांस्कृतिक क्रान्ति’ र ‘निरन्तर क्रान्ति’ जस्ता नाराहरु प्रचलनमा ल्याइएका हुन् ।
मध्यपूर्वका निरंकुश शासन सत्ताहरु हुन् वा विश्वमा उदीयमान बन्दै गएको चीन होस्, प्रदूषणको खतराबाट कोही पनि मुक्त छैनन् । सर्वशक्तिशाली अमेरिका वा बुर्जुवा प्रजातन्त्रको जननी भनिने वेलायत होस्, कुनै पनि व्यवस्था राजनीतिक प्रदुषणबाट अछुतो छैनन् । जुनसुकै विचारधाराबाट गठित राज्यव्यवस्थामा पनि प्रदूषण हुन्छ ! राजतन्त्र फालेर नेपालमा गणतन्त्र ल्याइएको छ, तर देश राजनीतिक प्रदूषणबाट मुक्त हुन सकेको छैन ।

३. लोकतन्त्र र निरंकुश व्यवस्थाभित्र हुने प्रदूषणको चरित्र फरक हुन्छ ।


प्रणालीगत हिसाबले लोकतान्त्रिक व्यवस्थाभित्र हुने प्रदूषण र निरंकुश व्यवस्थाभित्र हुने प्रदूषणको परिणाम भिन्न प्रकृतिको हुन्छ । लोकतन्त्रमा निर्वाचनको माध्यमबाट सरकार मात्रै परिवर्तन गरेर प्रदूषणको चक्रलाई पूरा गर्ने कोशिस गरिन्छ भने निरंकुश व्यवस्थाभित्र बढ्ने राजनीतिक प्रदूषणले चाँहि प्रायशः सरकार मात्रै नभई सिंगो व्यवस्थालाई नै परिवर्तन गर्दछ !
लोकतान्त्रिक व्यवस्थामा भन्दा निरंकुश व्यवस्थामा सुक्ष्म एवं वैज्ञानिक विश्लेषण गर्दछ । प्रदूषणको विशिष्ट नियम भन्नाले पदार्थमा हुने परिवर्तन वा प्रदूषणको भैतिक विज्ञानका आधारमा गरिने विश्लेषण हो भने विचारधारा वा चेतानाको क्षेत्रमा गरिने मनोवैज्ञानिक अध्ययन हो ।
मानिसभित्र देखापर्ने प्रदूषणको मूल दार्शनिक पक्ष अधि–भैतिक चरित्रको हुन्छ । सर्वप्रथम भौतिक पदार्थ एवं वातावरणले मान्छेलाई प्रभाव पार्दछ र त्यसपछि विस्तारै उसको चेतना र विचारलाई विकृत बनाउँछ । अधिभूत भनेको पदार्थ र चेतनाको वीचको अवस्था हो ।

उदाहरणका लागि कुकुरले खानेकुरा देख्दा ¥याल झार्ने प्रक्रियालाई हेरौं । कुकुरले खानेकुरा (भौतिक वस्तु) देख्दा उसको शारीरिक प्रतिक्रियास्वरुप र्याल निस्कन्छ । र्याल काढ्नु शारीरिक प्रक्रिया हो भने आँखाले देखेको पदार्थले शारीरिक अवस्थालाई प्रभाव पार्नु अधिभौतिक अवस्था हो । अनुसन्धानकर्ताहरुले कुकरको यस अधिभौतिक अवस्थामा विभिन्न प्रयोगहरु गरेका छन् । एउटा कुकुरलाई खाना दिनुअघि घण्टी बजाउने गरिएको थियो, पछि त्यस कुकुरले खाना नल्याए पनि घण्टीको आवाज सुन्नासाथ र्याल झार्न थाल्यो । आखिर खाना देख्दा र्झने र्याल घण्टी बज्दा कसरी आउन थाल्यो ? यसले के पुष्टि गर्दछ भने पदार्थले चेतनालाई र चेतनाले पदार्थलाई दोहोरो प्रभाव पारिरहेको हुन्छ ।

लेखक कमल परियार दलित अधिकारकर्मी बुटवल निवासी हुनुहुन्छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता