ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv
सत्ता लिप्साले भत्किएका माओबादी विरासतहरु

सत्ता लिप्साले भत्किएका माओबादी विरासतहरु

२०७८श्रावन २२ सल्यान

दृष्टिगाेचर भूमिका :

विज्ञापन

कानुनतः नेकपा विभाजनले एमाले र माओवादी पार्टीलाई पुर्ववत अवस्थामा फर्काइसकेपछि वली सरकार बिरूद्दको राजनीतिक मोर्चाबन्दी निकै कसिलो बन्यो । रोचक कुरा यो छ कि केपी वलीको प्रतिगमनकारी कदमका बिरूद्द आफ्नै पार्टीका बरिस्ठ नेता माधव नेपाल समुह विपक्षी दलहरू नेका , माओवादी र जसपासंग सडकमा उत्रियो ।

संविधान र संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत अर्थात न्यायालय केपी वलीको कठपुतली ( भक्षक ) बन्ने या न्यायीक सर्वोच्चतामा उभिएर संविधानको रक्षा गर्ने ? यो अहं प्रश्नको न्यायीक र सापेक्षित हल सर्वोच्च अदालतले गर्नैपर्थ्यो ।

प्रम केपी वलीका हरेक गैर संवैधानिक कदमहरूलाई नजिकैबाट अध्ययन गरिरहेको सर्वोच्च अदालतले पछिल्लोपटक परामादेशबाट नेका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति गर्ने जुन निर्णय गर्यो त्यो निर्णय नेपाली राजनीतिमा देखिएको संवैधानिक तथा राजनीतिक संकटलाई हल गर्न खोजीएको एउटा बाध्यकारी निर्णय हो भनेर बुझ्दा अन्यथा हुँदैन ।

उक्त निर्णय नगरेको भए केपी वलीकै गोलचक्करमा संविधान र राजनीति घुमिरहन्थ्यो । त्यो निर्णयले केपीको अभिमान र अहंकारलाई कानुनी र राजनीतिक रूपले नउठ्नेगरि वालकोटको वार्दलीमा पुर्‍याईदियो ।

त्यतिमात्र नभई विवेकसम्मत , साहसी र आक्रमक निर्णय गरेर पहिलोपटक सर्वोच्च अदालतले आफुलाई राज्यका अरू दुई अंग भन्दा शक्तिशाली भएको छनक दिन सफल भयो । नेपालको कानुनी र राजनीतिक इतिहासमा सर्वोच्चको यो निर्णय पहिलो भन्न सकिन्छ ।

शक्ति पृथकीरणको सिद्धान्त अनुसार यो निर्णय भोलिका दिनमा कति जायज कति नाजायज समीक्षा होला तर आजलाई भने यो निर्णयले मुलतः नेका , माओवादी , जसपा लगायत नागरिक समाजको एउटा ठुलो प्रगतिशील तप्कालाई तत्कालका लागि केही राहत मिलेको छ मुख्यतः काँग्रेस ,माओवादी र जसपा लगायतका राजनीतिक पार्टी र वरिष्ठ लेखक तथा बिश्लेषक नागरिक समाजका अगुवा युग पाठक नेतृत्वको नागरिक समाजको नारा र दृष्टिकोणमा घोर प्रतिगामी र घोर दक्षिणपंथी केपी वली सरकारको बहिर्गमनपछि दक्षिणपंथी पार्टी भएपनि तुलनात्मक रूपमा आजको समयमा सापेक्षित प्रगतिशील ठानिएका नेका सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार झण्डै एक महिना पुग्न केही दिनमात्रै बाँकी छ तर अझै पुर्णाकारको हुन सकेको छैन ।

जनताले नेका , माओवादी र जसपालाई नचिनेका होइनन नेका र माओवादी दुबै पार्टीहरू यो देशमा पटकपटक कार्यकारिणी प्रमुख भएर शासन चलाएर टेस्टेड भएका पार्टीहरू हुन ।

 इतिहासमा यी दुई पार्टीहरूले राजनीतिक परिवर्तनका लागि निकै ठुलो योगदान गरेका छन तर इतिहासका ति योगदानहरूलाई आफ्नै आन्तरिक बिग्रहका कारणले तहसनहस भएका छन बनाइएका छन ।

राजनीतिक , बैचारिक र दार्शनिक रूपले यी दुई पार्टीहरू फरक भएपनि देशको पछिल्लो सत्ता संघर्षले एकठाउमा रहेर काम गर्ने परिस्थिति निर्माण गरेको छ । दलीय भागबन्डाको आधारमा सरकार गठन भएपनि दलभित्रै आन्तरिक भागबन्डा र खिचातानी भैरहेकोले र आन्तरिक शक्ति सन्तुलन निमिल्दा यतिका दिनसम्म सरकार पुर्णाकारको नहुनु निश्चय नै विडम्बना हो ।

किनकि सबै पार्टी भित्र भ्रष्ट , गुटगत स्वार्थ , सामन्ती राजनीतिक संस्कार , आचरण मौलाएको छ । आफैलाई मात्रै योग्य र सक्षम ठान्ने , आफुलाई मात्रै धुरी बनाउने एवं गुटको हिस्सेदार बनाएर अवसरका हर क्षेत्रमा आफू र आफ्ना प्यादा र हनुमानहरूलाई मात्रै केन्द्रीत गर्ने , धेरै पटक मन्त्री सांसद भएको रेकर्ड बनाउन खोज्ने र अरूलाई देखाउन ध्याउन्नरत दलाल सामन्ती प्रवृत्तिका कारण सरकारले अझै पुर्ण स्वरूप प्राप्त गर्न सकेको छैन । अरूलाई लोकतन्त्रको पाठ सिकाउने तर आफ्नो पार्टी संगठन भित्रको आन्तरिक लोकतन्त्र भने आफ्नो पकड तथा घेरावन्दीमा राखिरहने गोजी लोकतन्त्र बनाउने । बल पाखुरा हुनेहरूको मात्रै रजगज आन्तरिक रूपमा लोकतन्त्र सबल नभए न संविधान बलियो हुन्छ न बाह्य लोकतन्त्र ! त्यसकारण यो बिषय निकै अहं छ ।

माओवादीको तत्कालीन विरासत :

बोल्सेभिक विरासत :- राज्यसत्ता बाहेक अरू सब भ्रम हो , राज्यसत्ता बन्दुकको नालबाट निस्किन्छ भन्ने माओको युक्तिलाई नेपाली सामाजको सामाजिक राजनीतिक , आर्थिक र साँस्कृतिक अन्तरबिरोधका विविध आयाममा टेकेर नयाँ राज्यसत्ता ( साम्यवाद ) स्थापनाका लागि थालिएको जनयुद्धले जनयुद्ध थालनीको ५ बर्षमा सत्ता सञ्चालन सम्बन्धिको अवधारणा जसलाई माओवादी पार्टीले एक्काइसौं शताब्दीको जनवाद भनेर सार्वजनिक गरेको थियो ।

त्यसमा टेकेर माओवादीले पहिचानका आधारमा जातीय , क्षेत्रीय गण ( प्रादेशिक ) राज्यहरू स्थापना गरेर अन्तर्राष्ट्रिय ध्यानाकर्षण मात्रै नभई महिला , दलित , आदिवासी जनजाति , मधेसी , थारू , मुस्लिम , सिमान्तकृत , अल्पसंख्यक , उपेक्षित क्षेत्र आदि सबै उत्पीडित बर्ग समुदायलाई आन्दोलनमा गोलबन्द र तदानुरूपको पार्टी , सत्ता र सेनामा समेत उल्लेख्य एवं अर्थपूर्ण सहभागिता बनाएर एवं शासन सत्तामा ती बर्ग समुदाय र क्षेत्रको पहुँच स्थापित गरेर आन्तरिक राष्ट्रिय एकतालाई पनि साँच्चिकै मजबुत बनाउने कोसिस गरेको थियो ।

साम्यवादी भ्रुणको रूपमा देशका विभिन्न ठाउँमा मुलतः माओवादी आधार इलाकामा कम्युनहरू स्थापना र तीन तहको जनसत्ता जातीय , क्षेत्रीय र उपेक्षित बर्ग समुदायको पहिचान र प्रतिनिधित्व सुनिश्चित हुनेगरी विभिन्न जातीय , क्षेत्रीय , लिंगीय र बर्गीय स्वरूपका संरचनाहरू खडा गरेर माओवादीको सत्ता सम्बन्धिको अवधारणालाई प्रयोगमा ल्याएर नै माओवादी आन्दोलनले छोटो समयमा आफ्नो सवाल , श्रेष्ठता , बल , र सामार्थ्यलाई स्थापित गर्न सफल भएको थियो ।

बिश्वास र एकताको विरासत :- जनयुद्धले समग्र राजनीतिक , आर्थिक , सामाजिक र साँस्कृतिक सम्बन्धहरूलाई नयाँ ढंगले परिभाषित गरिदियो । हिजोको मित्र आज शत्रु र हिजोको शत्रु आज मित्र । कुन क्रान्तिकारी र कुन गैरक्रान्तिकारी ? कुन साहसी र कुन डरपोक , कुन नजिक र कुन दूर ? आदि इत्यादी । उच्च किसिमको बैचारिक एकता , पारस्परिक विश्वास र कमरेडली भावनात्मक एकता , सामुहिक जवाफदेहिता , आर्थिक मितव्ययीता , सामाजिक साँस्कृतिक रूपान्तरणमा नीतिगत जोड , अन्तर्राष्ट्रियवादी भावना , राजनीतिक रूपमा त्याग , बलिदान र साहसका उच्च किर्तिमानहरू खडा गरेर राज्य सञ्चालनको एउटा शक्तिशाली हिस्सेदार शक्तिको रूपमा बुझ्ने बुझाउने स्थितिमा पुर्याएको दिन झैं छर्लङ्ग छ ।

उच्च बैचारिक तथा भावनात्मक एकताको जगमा नै जनयुद्धले एकहद सफलता प्राप्त गरेको थियो । तथापि जनयुद्धको समग्र पटकथाभित्र मानवीय संवेदनाका कयौं हृदयबिदारक र दुर्निवार्य चोट , घाउ र खाटाहरू छन । जसलाई कुनै पनि जोडकोणबाट सुबिस्ता दिन सकिदैन ।

अपाच्य बिस्माद र संसयका एक एक पोटलिका खोल्ने हो भने वेदना ,संवेदना र आक्रोशको सुविधाबाट हामी कोही अलग हुन सक्दैनौं ।

सत्ता लिप्साको विरासत :- निर्वाचन मत परिणामले सानो ठूलो जे जस्तो आकारमा भएपनि एउटा राजनीतिक पार्टीले देशको शासन सत्ताको नेतृत्व गर्न पाए हुन्थ्यो भनेर सोच्नु उसको अधिकार हो । सत्ता लिप्सा हुनु पनि स्वभाविक हो । तर लिप्सा बिस्टा होउन्जेल थाहा नपाउने नेपालको राजनीतिक संस्कार , चरित्र र प्रवृत्तिाई बदल्न जोखिम उठाएर लडेको माओवादी पार्टी आज सत्ता लिप्साको रूझानबाट माथि उठ्न सकेन । अछुतो हुन सकेन । अर्थात बिटुलो भयो। सत्तामा टाँसिरहने प्रवृत्तिको बिकास । सत्ता जसरी नि हुनैपर्ने । सत्तालाई फेर्ने भनेको त सत्ताले फेर्ने ! सत्ताको ढाँचा बदल्ने भनेको त त्यही ढाँचामा आफै बदलिने । त्यसपछि कसरी प्राप्त गर्न सकिन्छ साम्यवादी सपना ?

सत्ता लिप्साको सिलसिला :- शान्ति प्रकृया शुरू लगत्तै ०६३ को अन्तरिम सरकार गठनसंगै शुरू भएको माओवादी सत्तालिप्साको बिथान्कोले बिस्टा बनुन्जेल थाहै पाएन ।

१० बर्षको अद्दितीय त्याग , बलिदान र इमानको कर्मलेखाले नयाँ संविधान बनाउने , देशको सामाजिक , राजनीतिक ,साँस्कृतिक र आर्थिक लगायतका तमाम अन्तरबिरोधहरूलाई हल गर्न संविधानसभाको पहिलो चुनाव ०६४ मा माओवादी भारी जनमत सहित गणतन्त्र नेपालको पहिलो पार्टीको रूपमा सत्तारोहन हुने एउटा सुअवसर प्राप्त गर्यो ।

त्यसको पछाडि स्पष्ट बिचार दृष्टिकोण बिधि र पद्धतिसहितको पार्टी संगठन थियो । फलामे अनुशासन थियो । त्यसकारण त्यो अवसर प्राप्त भएको थियो । अवसरलाई राम्रोसँग उपयोग गर्न नसक्दा हातबाट फुत्किएको माछा जस्तै हुनुपरेको छ । इतिहासको त्यो अवसर अब विरलै प्राप्त होला । आधार सर्वेक्षण गरियो भने माओवादी एउटा औपचारिक पार्टी बाहेक कम्पनी हो भनेर जवाफ पाउन सकिन्छ । मान्यता र मर्यादाको संस्कार भत्कियो सत्ताले मत्ता बनायो । कार्यशैली र भावभङ्गी मिलेन तासको घर झैं बिचार आदर्श गर्ल्याम्म ढल्यो पार्टीभित्र छली ,कपटी , ढोंगी , स्वार्थी र छुल्याहापनको बिकास भयो ।

त्यही छुल्याहापनले निष्ठा र आदर्शको राजनीतिलाई भत्कायो । पार्टीभित्र साधु सन्त कम र छलीढाँटीहरूको बोलवाला र बिगबिगी भयो । इमानदार र बलिदान गरेकाहरूलाई पाखा लगाउने र हनुमानहरूलाई काखी च्याप्ने , पार्टी भित्र बिचार भन्दा दलाल , ज्यु हजुरी , आर्थिक गुट , समुहहरू बलिया बन्दै गए । अर्थात पार्टी संगठन निश्चित ब्यक्तिहरूको नाफामुखी कम्पनी बनाइए । आर्थिक क्षेत्र र श्रोत साधनमा सबै तिनै कम्पनीवालहरूको कब्जामा । राजनीतिको मर्म र भावनालाई तेजोवध गरेर राजनीतिलाई पेसा बनाउन थालियो ।

 क्रान्तिकारी पाइनमा खिया लाग्यो । त्यसपछि बिथान्को नभएर के हुन्छ ? सत्ताभोगको अतृप्त लिप्साले आज माओवादीको बेल्शेभिक स्प्रिट अब इतिहासमा खोज्नु बाहेक कतै पाउन सकिन्न ।

माओवादीको बारेमा भएका बुझाई :- जनयुद्धको समयमा माओवादी पार्टीका गतिविधिलाई अराजनीतिक , आतंककारी , आततायी अपराधीहरू जत्थाको संज्ञा दिएर राजनीतिक पार्टी खासगरी तत्कालीन नेका , एमाले लगायत बाह्य मुलुक भारत , अमेरिकाले माओवादी पार्टीलाई एक आतंककारी पार्टीको रूपमा बुझ्दथे र सोही अनुसार व्यवहार प्रदर्शन गर्थे ।

बिचार , राजनीति र कुनै सिद्धान्त दर्शन छैन भनेर एउटा आपराधिक गिरोहका रूपमा चित्रण गर्थे । त्यही भएर राज्यले आफ्नो ऐन कानुनको डन्डा लगाएर माओवादी गतिविधिलाई नियन्त्रण गर्न प्रतिबन्ध मात्र नभई टाउकाको मुल्य समेत तोकेर माओवादी आन्दोलनलाई निस्तेज गर्न विगतमा राज्यले कुनै पनि हतकण्डा बाँकी राखेको थिएन ।

परन्तु त्यो उनीहरूको मित्थ्या आरोप थियो किनकि उनीहरूको बुझाई र सोचाइ तब निस्काम भए जब माओवादीले आफ्नो आक्रमणका निशानाहरूलाई अन्तर्राष्ट्रिय युद्ध सम्बन्धि प्राबधानको पालना , बिचार , दर्शन र राजनीतिक सिद्धान्त अनुसार अघि बढाउँदै लिए ।

माओवादीसंग सु स्पष्ट राजनीतिक बिचार , निश्चित विचारधारात्मक दर्शन ( मालेमावादी ) विचार र लेनिनवादी संगठनात्मक सिद्धान्तसहितको एउटा राजनीतिक पार्टी थियो । आवश्यकताको आधारमा जनसंगठनको स्वरूप फौजी र फौजीको स्वरूप जनसंगठक हुने बिचारलाई आत्मसात गरेर नै माओवादी आन्दोलन अघि बढेको थियो ।

 देश एकसत्ता दुई -: राज्यसत्ताका तीनवट‌ै अंग कार्यपालिका , ब्यबस्थापिका र न्यायपालिकाका आधारभूत संरचनाहरू निर्माण गरेर एउटै देशभित्र दुईवटा सत्ता ( राजा सहितको संसदवादी दलहरूको पुरानो सत्ता र माओवादीले स्थापना गरेको नयाँ जनसत्ता ) ठुलो जनाधार , संगठनात्मक संजाल र झण्डै ८० प्रतिशत भुगोलमा फैलिएको माओवादी जनसत्ता र काँडें तारभित्र सिमित हुनपुगेको पुरानो सत्ता । अर्थात एउटा देशमा दुईवटा सत्ता सञ्चालन ।

एउटा स्वतन्त्र देशभित्र राज्यसत्ताले गर्ने / हुने मुद्रण , हवाई सेवा बाहेक लगभग आधारभूत सबै गतिविधिहरू माओवादी जनसत्ताले सञ्चालन गरेको थियो । स्थानीय स्तरमा आफ्नै बजेटमा स्थानीय बिकास निर्माणका गतिविधिहरू सञ्चालन । एउटा छुटाउनै नहुने कुरा सहिद मार्ग रोल्पा होलेरीदेखि जहिल्यै पनि राज्यसत्ताको विपक्षमा उभिने कम्युनिस्ट आस्थाको सतिसाल चर्चित रोल्पाको थवाङसम्म पुग्ने रणनीतिक महत्त्वको सडक निर्माण ।

जनवादी शिक्षाका लागि पाठ्यक्रम निर्माण र मोडेल स्कुलहरू सञ्चालन , स्थानीय स्तरमा सानातिना कुटिर उद्योगहरू जस्तै झोला , स्वीटर , फर्निचर , टिमुर , सिस्नो पाउडर , चिउरी साबुन , राडीपाखि , सस्तो पसलहरू र ठाउँ स्थान हेरेर उद्योगहरू सञ्चालन गरिएका थिए ।

सञ्चार माध्यमको रूपमा रेडियो तथा पत्रपत्रिकाहरू सञ्चालन गरेर माओवादी जनयुद्धको प्रचारप्रसार र जनतालाई आफ्नोतर्फबाट सुसूचित गर्ने , युवाहरूलाई अनुशासित र माओवादी आन्दोलनमा आक्रसित गर्न विभिन्न खेलकुदको आयोजना र तलदेखि माथिसम्म संस्थागत रूपमा खेलकुद संगठन निर्माण , स्थानीय स्तरमा कृषि तथा पशुपालन प्राविधिकहरू निर्माण तथा परिचालन , स्वास्थ्यकर्मी निर्माण तथा परिचालन , स्थानीय स्तरमा मालपोत तथा रजिष्ट्रेसन आदि ।

 के माओवादी पार्टी आफ्नो राजनीतिक इतिहासमा भएका भुल , घटना दुर्घटनाहरूका समग्र पाटा पक्षहरूको बस्तुनिष्ठ समीक्षा गरेर अघि बढ्न सक्ला ? जनयुद्धको बलमा स्थापित भएका कयौं कालजयी सवालहरूलाई के यो राज्यसत्ताको मोडलबाट प्राप्त गर्न सक्ला ?

जनयुद्धको बलमा स्थापित र कार्यान्वयन भैरहेको सामाजिक , आर्थिक , राजनीतिक र साँस्कृतिक क्षेत्रको निकै गहिरो र पेचिलो मुद्दा विभेद न्युनीकरणसंग जोडिएको एउटा महत्त्वपूर्ण उपलब्धि आरक्षणको विपक्षमा जसरी सर्वोच्च अदालतले निर्णय गर्यो यो सम्बन्धमा माओवादी पार्टीको आधिकारिक धारणा आउन जरुरी छ । माओवादी जनयुद्धले बिशेश अधिकारका नाममा उठाएको बिषय हो यो ।

त्यसकारण एउटा शक्तिशाली पार्टी जनताको भरोसाको माओवादी पार्टी बनाउने हो भने सच्चाइका लागि आजैदेखि शुरू गरौ । कम्पनी होइन साँच्चै जनताको अभिभावक पार्टी बनाउने अभियानमा लागौं । सबैखाले चुनौतीहरूलाई परास्त गर्न सकिन्छ ।

लेखकः गणेश चिन्तन २०७८ श्रावण २२ रुकुम पश्चिम

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता